काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मङ्सिरमा हुने निर्वाचन सफल बनाउन तिनै तहको सरकार एक भएर लाग्नुपर्ने बताएका छन् । पोखरामा शुक्रबार आयोजित प्रदेशस्तरीय सुरक्षा बैठकमा उनले निर्वाचन भयरहित, स्वतन्त्र बनाउनका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकार एक भएर लाग्नुपर्ने बताएका छन् ।
‘आयोगलाई सरकारले पैसा छुट्याएको छ । त्यो भएन भने प्रदेश सरकारले हेरेर बस्ने कुरा पनि भएन’, उनले भने, ‘हाम्रो लक्ष्य यो अभियानलाई सफल बनाउने हो ।’ सङ्घीयता र लोकतन्त्रको मजबुती नै आवधिक निर्वाचनमा आधारित भएकाले यसलाई सफल बनाउन सबै क्षेत्र लाग्नुपर्ने उहाँको भनाइ थियो ।
उनले भने, ‘निर्वाचन एउटा प्रक्रिया मात्रै होइन । निर्वाचन यसो उसो गरेर भोट हालेर पठाउने मात्रै पनि होइन, भयरहित, शान्तिपूर्ण निर्वाचन भनेको जनताको मौलिक अधिकार पनि हो र जनताको आशा पनि हो ।’ यो पाँच वर्षको अवधिमा भएका काम र व्यवस्थाको निरन्तरता यो पटकको निर्वाचनले कायम गर्नुपर्ने उनले बताए ।
पाँच वर्षको सङ्घीयताको कार्यान्वयनको सन्दर्भमा प्रत्येक क्षेत्र नयाँ प्रयोग भएको उनले बताए । अधिकार क्षेत्रका विषयमा केन्द्रसँग विमति रहेको पनि उनले सुनाए । विविध समस्या रहँदारहँदै पनि निर्वाचन सफल बनाउन पछि नहट्ने उनको भनाइ थियो ।
भौगोलिक विकटता चुनौती
आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न गर्न गण्डकी प्रदेशमा भौगोलिक विकटता चुनौती हुने देखिएको छ । मनाङ, मुस्ताङ र उत्तरी गोरखामा अहिले हिउँ पर्न थालिसकेको छ । प्रदेश सुरक्षा समन्वय समितिका अुनसार हिउँ पर्ने स्थानमा चुनौती देखिएको हो ।
समितिका अनुसार गोरखाका २२, मनाङका पाँच र म्याग्दीका तीन वटा गरी ३० मतदानस्थलका मतपेटिका हेलिकप्टरबाट ढुवानी गर्नुपर्ने बाध्यता छ । यी क्षेत्रमा मतदातालाई मतदानका लागि समस्या हुने आँकलन समितिको छ । समितिका सदस्य सचिव बद्रीनाथ अधिकारीले गण्डकीको सुरक्षा अवस्थाबारे जानकारी गराउँदै करिब १८ हजार सुरक्षाकर्मी खटाइने बताए ।
पोखरामा भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा राजनीतिक दल र उम्मेदवारबीच अस्वस्थ प्रतिस्पर्धा पनि चुनौती हुने विषयमा छलफल भएको थियो । निर्वाचनमा परिचालित कर्मचारीको सुरक्षा, कर्मचारीको व्यवस्थापकीय त्रुटी, भौगोलिक विकटता र मौसमका कारण मतपेटिका ढुवानीमा हुन सक्ने कठिनाइ पनि निर्वाचन सुरक्षाका चुनौती हुन् ।
गण्डकी प्रदेशमा प्रतिनिधिसभातर्फ एक सय ९६ र प्रदेशसभातर्फ दुई सय ३५ उम्मेदवार छन् । प्रतिनिधिसभातर्फ २२ महिला र प्रदेशसभातर्फ २९ महिला उम्मेदवार छन् । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले इजाजत लिएका हातहतियार अझै नबुझाएका कारण चुनौती बढेको बताए ।
‘इजाजत लिएका हतियार एक हजार आठ सय हाराहारी मात्रै बुझाएका छन् । बाँकी हतियार आएको छैन’, उनले भने, ‘अवाञ्छित गतिविधि होला भनेर १५ दिन अगाडिदेखि नै रक्सी बिक्री वितरणमा रोक लगाएका छौँ । ७२ घण्टा अगाडि बोर्डर सिल गरिन्छ ।’ गण्डकीको गोरखामा रुइला भन्ज्याङ, नवलपुरको छोटी भन्सार तथा मुस्ताङको कोरला नाका सिल हुनेछ ।
यद्यपि उत्तरका नाका कोरोना कालदेखि नै बन्द अवस्थामा छन् । छोटी भन्सार खासै चहलपहल छैन । गण्डकीमा निर्वाचनका लागि पाँच हजार सात सय ९९ प्रहरी खटिनेछन् । ११ हजार पाँच सय ८० म्यादी प्रहरी, पाँच सय १६ मोबाइल प्रहरी र छ सय ८८ म्यादी प्रहरी तैनाथी हुनेछन् । दुई सय २८ प्रहरी र एक सय २१ म्यादी प्रहरी रिजर्भमा राखिएका छन् ।
कारागारका मतदानस्थलमा ३० प्रहरी र ५० म्यादी खटाइने प्रदेश सुरक्षा समन्वय समितिका सदस्य सचिव बद्रीनाथ अधिकारीले जानकारी दिए । कर्मचारी मतदानस्थलमा १५ प्रहरी र २५ म्यादी, निर्वाचन सेलमा ८४ प्रहरीसहित छ हजार छ सय ८६ प्रहरी र १२ हजार चार सय ६४ म्यादी प्रहरी खटाइने उनले जानकारी दिए । गृहसचिव विनोदप्रकाश सिंहले निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन कसैसँग पनि सम्झौता नगर्न निर्देशन दिए ।
गोष्ठीमा १० जिल्लामा प्रजिअ र सुरक्षा प्रमुख सहभागी भएका थिए । मनाङको टिमले भर्चुअल रुपमा सहभागिता जनाएको थियो । निर्वाचनमा अपनाउनुपर्ने सुरक्षा रणनीति, सबल पक्ष र चुनौतीका बारेमा छलफल गरी निक्र्योल निकाल्न गोष्ठी आयोजना गरिएको हो । उक्त अवसरमा ११ वटै जिल्लाका प्रजिअले जिल्लागत रुपमा प्रस्तुति राखेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया