स्थिर सरकार बनाउनेसहित दिगो विकासको नारा लिएर राजनीतिक दलहरु चुनावी मैदानमा छन् ।
ठूलो राजनीतिक उथलपुथलपछि निर्मित संविधानको रक्षा गर्दै देशलाई आर्थिक समृद्धितर्फ लैजानु अहिलेको मुख्य चुनौती छ । तर राजनीतिक दलहरुको ध्यान भने त्यतातिर नभएको मतदाताहरुको निचोड छ ।
काठमाडौंको १० वटै निर्वाचन क्षेत्रमा पुगेर लोकपथको टिमले मतदाताको मनसाय बुझ्दा नेताहरुले भोट पाउन गरेका बाचाहरु पूरा नगरेकामा उनीहरु निराश भेटिए । बरु उनीहरुसँग आक्रोशको ज्वाला दन्किरहेको भान हुन्थ्यो । राजधानीमै भएर पनि यहाँका धेरै ठाउँका सडक विकट ठाउँको झै छ । वर्षौँदेखि खानेपानीको समस्या जस्ताको त्यस्तै छ । काकाकूल राजधानीबासीलाई मेलम्ची देखाएर गरेको मोलमोलाईले हद नाघेको छ । निर्वाचन क्षेत्रमा रहेका प्रमुख समस्याहरु समाधान गर्छु भन्दै हरेक चुनावमा नेताहरुले मत लिन प्रतिबद्धता जनाउँछन् । तर निर्वाचन जितेपछि न नेता त्यहाँ पुग्छन् न ती समस्याको चेत नै हुन्छ ।
मतदान पाँच वर्षका लागि मतदाताले खाली कागजमा हस्ताक्षर गरेर दिएको स्वीकृति हो । जसलाई आम मतदाताले मात्र भन्दैनन्, स्वयं उम्मेदवारले पनि पटकपटक ठूलो सभाहरुमा भन्ने गरेका छन् । व्यवहारतः खाली कागजमा पाएको जनताको आत्मदानलाई नेताहरुले पटकपटक दुरुपयोग गरेकामा मतदातामा आक्रोश चुलिएको हो ।
दल र नेताका झूठा आश्वासन, कार्यशैली र जीवनशैलीका कारण आम मतदाता व्यवस्थाप्रति वितृष्णा जनाउन थालेका छन् । १० वटै निर्वाचन क्षेत्रमा पुग्दा धेरै मतदाताको मनसाय स्वतन्त्र वा राजनीतिक पार्टीकै पनि नयाँ उम्मेदवारहरु छान्ने सोचमा रहेको पाइयो ।
भौतिक सम्पन्नता भित्र रमाएको काठमाडौंलाई चन्द्रागिरीको डाँडाबाट नियाल्दा यहाँ यस्ता समस्या पनि छन् र ? भन्ने लाग्छ । रुकुम रोल्पा वा कुनै दुर्गम गाउँको सामान्य समस्या भोगिरहेको जनताको मनमा प्रश्न उठ्न सक्छ । तर काठमाडौं भित्रकै बस्तीहरुमा पसेर त्यहाँका समस्या मिहिन ढंगले केलाउने हो भने यहाँका समस्या पनि उही र उस्तै उस्तै किसिमको पाइन्छन्, जुन दुर्गम बस्तीका आम मानिसहरुले वर्षौँदेखि भोगिरहेका छन् ।
काठमाडौंको मुटु मानिने नयाँ बानेश्वरसहित भौतिक सुविधासम्पन्न ठाउँ काठमाडौं निर्वाचन क्षेत्र नं १ मा पर्दछ । त्यहीँको जनताको मत पाएर निर्वाचित सांसद सोही क्षेत्रमा पर्ने संघीय संसद भवन जान्छ । न उसले आफ्ना नागरिकको समस्या त्यहाँ राख्दछ, न चुनाव जितेपछि जिताउनेहरुको संवाहक नै बन्छ । गृहणीदेखि विद्यार्थी, शिक्षकदेखि आम मतदाताको समस्या अघिल्ला अघिल्ला पटक जितेर गएका नेताहरुले समाधान नगरेकैले नयाँलाई रोज्ने हो की ! भन्ने मतदाताको मनसाय छ । यसअघि उम्मेदवारहरुले चुनाव जित्न राम्रा राम्रा एजेण्डाहरु ल्याए पनि योजना अनुसारका काम गरेनन् ।
काठमाडौं क्षेत्र नं १ मा पर्ने थापागाउँका मतदाता विकास श्रेष्ठ आगामी निर्वाचनमा नयाँ र स्वतन्त्रले जितेमा काम गर्न सक्ने बताउँछन् । ‘हामी नयाँलाई चान्स दिने विचारमा छौँ ।’ उनी भन्छन्, ‘स्वतन्त्रलाई जिताउन पाए हुन्थ्यो भन्ने सोच्दैछौँ । स्वतन्त्रले स्वतन्त्र भएर काम गर्न पाउँछ जस्तो लाग्छ ।’
त्यस्तै, सोही क्षेत्रकी मतदाता लदिकी शेर्पा पनि अघिल्ला सांसदहरुबाट सन्तुष्ट देखिएनन् । काठमाडौं महानगरपालिका १० मा बस्ने उनी सो क्षेत्रमा खानेपानीको समस्या रहेको बताउँछिन् । सरकारी धाराको लागि पैसा तिरे पनि पानी नपाएको गुनासो उनको छ । अघिल्ला सांसदहरुले बाचा अनुसारको काम गर्न नसकेका कारण अबको निर्वाचनमा नयाँ र युवा जोस जाँगर भएको उम्मेदवारलाई जिताउने मनस्थिति उनको छ । ‘सरकारी धाराको पैसा तिरेको तिर्यौ छौँ । तर पानी भने अहिलेसम्म पाको छैन ।’ उनी आफ्नो समस्या यसरी सुनाउँछिन्, ‘हामी त युवालाई दिने हो ।’
यता, काठमाडौं क्षेत्र नं २ ले जिताएर पठाएकाहरु प्रधानमन्त्रीदेखि राष्ट्रपति समेत बने । तर त्यहाँ २०५० साल र त्यो भन्दा अघिदेखिको डुबानको समस्या उस्तै छ । अझै पनि मनोहरा खोला गडगडाएर आएको दिन त्यहाँका जनतालाई निन्द्रा पर्देन । पूर्वप्रधानमन्त्री माधव नेपालदेखि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीसम्मले जितेको यो क्षेत्र मोटरबाटो, पानी र डुबान जस्ता समस्या बोकेर बसेको छ ।
काठमाडौं–२ का मतदाता हरिप्रसाद फुँयाल आफ्नो क्षेत्रमा मुख्यसमस्या पानीको रहेको बताउँछन् । यता मनोहरा खोलाको डुबान समस्या वर्षौँदेखिको रहेको र बजेट छुट्टिँदा पनि नेताहरुले तदारुकता नदेखाएकाले त्यतिकै ‘कोल्याप्स’ भएको बताउँछन् । ‘हामीलाई ठूलो समस्या पानीको छ । अर्को मनोहरा खोलाको डुवान हो । यसअघि दुई पटक बजेट छुट्टियो, दुबै बजेट त्यतिकै गयो ।’ उनी भन्छन् ।
काठमाडौं–२ अन्तर्गतकै काँडाघारीका प्रमोद घिमिरे आफ्नो क्षेत्रमा अझै पनि बाटोको मुख्य समस्या रहेको बताउँछन् । यसअघि जितेर गएका सांसदले बाटो निर्माणको प्रतिबद्धता बाँडेर चुनाव जिते पनि बाचा अझै पूरा नगरेको भन्दै उनी भन्छन्, ‘यहाँको मुख्य समस्या बाटोकै हो । तर यहाँको समस्या समाधान गर्नका लागि राज्यको राम्रो उपस्थिति भएको जस्तो छैन ।’
काठमाडौं ३ मा मुख्यतः बाटोको समस्या देखिन्छ । खानेपानीको समस्या समग्र काठमाडौंको रहे पनि सो निर्वाचन क्षेत्रमा वर्षौँदेखि बाटोको समस्या रहेको छ । वर्षामा हिलो र हिउँदमा धूलोको सास्ती ब्यहोर्नु उनीहरुको नियती बनेको छ । खेतीयोग्य जमिन समेत प्रशस्त रहेको सो क्षेत्रमा किसानहरुको मल नपाएको गुनासो उस्तै छ ।
काठमाडौं–३ अन्तर्गत भद्रवासमा व्यवसाय गरेर बस्छिन् गीता चौलागाँई । उनी दैनिक काम गरेर खानेहरुका लागि मूल्य वृद्धिले ठूलो असर गरेको तर नेताहरुले सो विषयमा कुनै पनि पहल नगरेको बताउँछिन् । राज्य संयन्त्रबाट मूल्यवृद्धि नियन्त्रण गर्न नसक्दा आफूहरु जस्तो व्यवसाय गर्नेहरुका लागि समस्या पैदा भइरहेको बताउँछिन् । ‘भोलि आउने सांसदहरुले खाद्यान्नलगायत मलखादको समस्या समाधान गरिदिए जनताले राहत महसुस गर्नेछन् ।’ उनी भन्छिन् ।
यता काठमाडौं–३ को आलापोटका नारायणहरि फुयाँल निर्वाचनले जनतामा त्यति उत्साह नथपेको बताउँछन् । चुनाव कर्मकाण्डी जस्तो आइरहने गइरहने तर नेताहरुले गरेको बाचाहरु पूरा नगरेमा उनको गुनासो छ । ‘जनतामा पािहले जस्तो खासै उत्साह छैन । जनतामा निराशा छ’ उनी भन्छन्, ‘चुनाव भनेको आइरहने गैरहने कुरा जस्तो मात्र भयो । जितेर जानेहरुले केही नगर्ने कुराबाट जनता आजित छन् ।’
यता काठमाडौं क्षेत्र नं ४ का जनतामा पनि चुनावको त्यति सारो उत्साह छैन । अघिल्लो पटक जितेर गएका सांसदहरुले गरेका केही बाचाहरु रहेको र आगामी निर्वाचनमा ति बाचा पूरा हुने विश्वासमा छन् मतदाताहरु । क्षेत्रको शिक्षा, स्वास्थ्य लगायतका जनसरोकारसँग जोडिएका विषयमा केही काम भएको मतदाता बताउँछन् । निर्वाचनपछि प्रधानमन्त्री बन्ने उद्घोष गरेका सांसद समेत सोही क्षेत्रबाट रहेका कारण काठमाडौंले प्रधानमन्त्री पाउन सक्ने आशा कतिपय मतदाताको रहेको छ ।
काठमाडौं–४ स्थित चाबहिलका मतदाता ध्रुव थापा गगन थापाले प्रधानमन्त्री मात्रभन्दा पनि पुस्तान्तरणको मुद्दा लिएर अघि आएका कारण जिताउनुपर्ने बताउँछन् । अघिल्ला कामहरुबाट जनता खुसी रहेको बताउँदै आगामी निर्वाचनमा सांसद र प्रधानमन्त्री बनाउनुपर्नेमा उनको जोड रहेको छ । उनी भन्छन्, ‘अहिले सबैले परिवर्तन खोजिराखेका छन् । अघिल्लो पुस्ताबाट भन्दा पनि पछिल्लो पुस्तामा पुस्तान्तरण हुनपर्यो राज्यसत्ता भन्ने कुराहरु आइरहेका बेला गगन थापाको सो घोषणा उचित हो ।’
क्षेत्र नं ४ कै कपनस्थित राममन्दिर चोकका रामबहादुर अधिकारी पञ्चायत कालदेखि नै मतदान गरे पनि सांसदहरुको कामबाट सन्तुष्ट नभएको बताउँछन् । सो क्षेत्रमा मुख्य समस्या पानी रहे पनि चुनावी नारा मात्रै रहेको बताए । अघिल्लो चुनावमा भोट माग्न उम्मेदवार आए पनि त्यसअघिपछि नआएको बताउँछन् । बाटोको समस्या वर्षौँदेखि भए पनि नेताहरुले नहेरेको उनी बताउँछन् । बाटोघाटोसहित बृद्धबृद्धाका लागि अस्पताल र मन बहलाउने ठाउँको व्यवस्था गर्नुपर्ने बताउँछन् ।
देशको मुख्य प्रशासनीक भवन, ठूला ठूला अस्पतालदेखि ग्रामिण भेगसमेत समेटिएको छ काठमाडौं क्षेत्र नं ५ मा । यस क्षेत्रका मतदाता पनि अघिल्ला पटक निर्वाचित सांसदहरुबाट सन्तुष्ट छैनन् । यस क्षेत्रमा मतदाता, नेताहरुले चुनावका बेला जे पनि गर्छु भन्ने प्रतिबद्धता व्यक्त गरेका कारण आफूहरुले सबैलाई भोट दिन्छौँ भन्ने गरेको बताउँछन् ।
काठमाडौं–५ टोखाका अष्टनारायण श्रेष्ठ आफूहरुकै पहलमा बाटो खने पनि त्यसको स्तरोन्नती गर्न नेताहरुले कुनै पहल नगरेको बताउँछन् । अघिल्ला सांसदहरुले काम नगरेको कारण नयाँ र युवालाई अघि बढाउने पक्षमा उनी देखिन्छन् । अर्का मतदाता रामराज श्रेष्ठ टोखामा चाकुको व्यवसाय गर्छन् । तर अघिल्लो निर्वाचनबाट निर्वाचित सांसदले काम गर्न नसकेको गुनासो गर्छन् । सो क्षेत्रबाट निर्वाचित सांसद उपप्रधानमन्त्री समेत बन्दा पनि क्षेत्रको विकास र व्यवसायलाई कुनै राहत महसुस हुने किसिमको पहल नभएको बताउँछन् ।
‘हामीले हाम्रो गाउँठाउँलाई विकास गर्ने किसिमको सांसद छनोट गर्ने हो । स्वच्छ छवी भएको, जितेर गइसकेपछि माथिमाथि मात्र हेर्ने होइन तल्लो तहका जनताको समस्या के छ ? कसरी जीवन गुजारा गरिरहेका छन् ? भन्न बुझ्ने नेतालाई सांसद चुन्ने हो ।’ उनले भने । उनी पहिलेको नेतृत्व र नेताहरुको काम गराइले गर्दा नेताहरुमा निराशा छाएको बताउँछन् । टोखा क्षेत्रको चाकु नेपालभर चर्चित रहेको बताउँदै त्यसको ब्राण्डिङ गर्ने नेतालाई भोट दिनुपर्ने उनको मनसाय छ ।
काठमाडौंको मुख्य बजारदेखि भित्री काँठका क्षेत्र समेत समेटिएको काठमाडौं क्षेत्र नं ६ मा पनि बाटो, खानेपानी लगायतका समस्या मुख्य छन् । अघिल्ला अघिल्ला सांसदहरुले जितेर जाँदा सो क्षेत्रको मुख्य समस्या समाधानमा पहल गर्न नसकेको भन्दै काभ्रेस्थलीका विनोद अधिकारीले काठमाडौंको काँठ क्षेत्रको विकासका लागि कुनै पनि नेताले पहल नगरेको बताए । शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा केही सन्तुष्ट हुन सकिए पनि खानेपानी र बाटोकै समस्या रहेको उनको भनाइ छ ।
साथै, राजनीतिक दलप्रतिको वितृष्णा र स्थानीय निर्वाचनमा स्वतन्त्रले जितेको कारण स्वतन्त्रका केही माहोल देखिए पनि तिनले पर्याप्त काम गर्न सक्नेमा आफू विश्वस्त नरहेको उनको भनाइ छ । काभ्रेस्थलीमै कृषि पेशा गर्दै आएका मतदाता ठाकुरप्रसाद अधिकारी पनि अघिल्ला सरकारको काम कारबाहीबाट सन्तुष्ट छैनन् । आफू चार वर्षदेखि कृषि कर्म गर्दै आए पनि सरकारी तबरबाट कुनै राहत नपाएको गुनासो उनको छ । सरकारी अनुदान आए पनि नेताका नजिकका मान्छेहरुले पाउने गरेको उनी सुनाउँछन् । काठमाडौं राजधानीमै भए पनि बर्षामा पानी परेका बेला पुल बगाउँदा एक अर्को गाउँको सम्पर्क नै टुट्ने अवस्था आएको गुनासो उनको छ ।
यता काठमाडौं क्षेत्र नं ७ का मतदाताका समस्या पनि कतै खानेपानी त कतै बाटोको रहेको छ । काठमाडौं–७ का दिपेश डंगोल अघिल्लो
निर्वाचनबाट निर्वाचित सांसदको काम गराइबाट सन्तुष्ट नभएको बताउँछन् । नेताहरुले भोट पाउनका लागि जनताको समस्या बुझेझैँ गरे पनि भोट पाइसकेपछि बिर्सने गरेको बताउँछन् । ‘मत त सांसदको काम गराइबाट सन्तुष्ट छैन । भोट नपाउन्जेल हो हामीलाई गुहार्ने भोट पाएपछि हामीलाई हेर्दैनन्,’ उनी भन्छन् । निर्वाचन जित्नका लागि महत्वकांक्षी बाचाहरु गर्ने तर कार्यान्वनमा शून्य भएका कारण जनतामा निराशा छाएको उनको भनाइ छ ।
त्यसैगरी आफ्नो क्षेत्रमा विकासका पूर्वाधारहरु रहे पनि तिनको व्यवस्थापन हुन नसकेको उनले बताए । ‘काठमाडौंलाई विकासभन्दा पनि व्यवस्थापन चाहिएको छ । विकास हामीलाई पुगिसक्यो,’ डंगोलले बताए । आगामी निर्वाचनपछि युवाहरु अघि आउनुपर्ने काठमाडौं–७ की मतदाता स्वस्तिका आचार्य बताउँछिन् । कलेज पढ्दै गरेकी आचार्य सांसदहरुले युवाको आवाज बोल्न नसकेको गुनासो गर्छिन् । आफू काठमाडौंमा जन्मे हुर्केर केही अवसर पाए पनि आफ्नै उमेरका गाउँका युवतीहरुले सो किसिमका अवसर नपाएको उनी बताउँछिन् । अबको सांसदले युवाका लागि काम गर्नुपर्ने उनी बताउँछिन् ।
विश्वसम्पदा सूचीमा सूचिकृत स्वयम्भूनाथ स्तुपा, वसन्तपुर दरबार स्क्वाएरलगायत धार्मिक र पर्यटकीय स्थलहरु पर्दछ काठमाडौं–८ ।
निर्वाचनको माहोल ह्वात्तै ताते पनि आम जनतामा भने निर्वाचनको रौनकले त्यति छुन सकेको छैन, यहाँ । कतै बाटोको समस्या, कतै पानीको समस्या त कतै अत्याधिक चोरीको समस्या रहेको त्यहाँका बासिन्दाहरु बताउँछन् । आगामी निर्वाचनबाट राजनीतिमा युवा र नयाँ अनुहारको उदय हुनेमा विश्वस्त छन्, काठमाडौं क्षेत्र नं ८ अन्तर्गत सालफाँट मार्गका राकेशमान जोशी ।
अघिल्लो पटक नेताहरुले गरेका बाचाहरु घोषणापत्रमा मात्रै सिमित भएका कारण आगामी निर्वाचनबाट छनोटका आधारमा मत दिनुपर्ने तर्क उनको छ । साथै आफ्नो क्षेत्रबाट जितेर गएका सांसदले सो क्षेत्रका लागि देखिने कुनै पनि काम गर्न नसकेको उनी बताउँछन् । ‘घोषणापत्रको २–४ प्रतिशत पनि काम भएको छैन । यो क्षेत्रमा देखिने गरी काम भएको चाँही मलाई लाग्दैन । विकासको नाममा प्रगती भएको छैन,’ उनले भने ।
काठमाडौं–८ कै तहाचलका दिपक बज्राचार्य अघिल्ला सांसदहरुले गरेको प्रतिबद्धता पूरा नभएको बताउँछन् । ‘यो टोलबाट गरिएका प्रतिबद्धताहरु केही पूरा भएका छैनन् । हामी स्थानीयहरु एकजुट भएर समस्या समाधानका लागि घरदैलो गर्ने गरेका छौँ ।’
अन्य मतदाताभन्दा उनको बुझाइ अलिक फरक छ । जनता राजनीतिक रुपमा विभाजित भएकाले विकास हुन नसकेको उनको भनाइ छ ।
जनता दलगत आधारमा विभाजित भएकाले सत्य असत्य के हो भन्नेबारे छुट्टयाउन नसकिएको बताउँछन् । ‘नेपालमा असली नागरिकको खाँचो छ । दलगत आधारमा बाँधिएर बस्नु नै ठूलो समस्या हो । के सत्य, के असत्य भन्ने छुट्याउन सक्ने नाागरिक भएमा विकास आफैँ हुँदै जान्छ,’ उनले थपे ।
यता, काठमाडौं क्षेत्र नं ९ का विभिन्न स्थानका समस्या फरक फरक छन् । कतै पानी, त कतै बाटो, स्वास्थ्य पूर्वाधार र कृषकका लागि मलखाद लगायतका समस्या यो क्षेत्रले ब्यहोर्दै आएको छ । यस निर्वाचन क्षेत्रमा पनि मतदाताहरु उम्मेदवारप्रति त्यति सन्तुष्ट छैनन् । अघिल्ला निर्वाचनहरुमा गरिएका प्रतिबद्धता पूरा नभएका कारण आगामी निर्वाचनमा नयाँ खोज्ने होकी भन्ने मनस्थिति त्यहाँ देखिन्छ ।
कतिपय मतदाता भने नेताहरुको बाचा र प्रतिबद्धता सुन्दासुन्दै आफूहरुको उमेर ढल्किएको तर आफ्नो ठाउँको विकास हुन नसकेको बताउँछन् । यस क्षेत्रमा भने मिश्रित किसिमका मतदाताहरु भेटिए । अघिल्ला सांसदहरुबाट केही सन्तुष्टी र आगामी निर्वाचनमा पनि तिनैलाई जिताउने मनस्थितिमा छन्, कतिपय मतदाता ।
सोही क्षेत्रमा कृषि कर्ममा रहेका हरि सिलवाल भने अघिल्ला सांसदहरुको कामबाट सन्तुष्ट छैनन् । आफूहरु जस्तो किसानको लागि अनुदानलगायत सहुलियत नपाएको कारण चुनाव आउनु र नआउनुको कुनै औचित्य नरहेको उनको तर्क छ । केन्द्रमा सबै किसिमको सहुलियत र सुविधा छुटिएको भए पनि आफूहरुले कुनै किसिमको राहत महसुस नगरेको उनी बताउँछन् ।
‘अहिलेसम्म कृषीका लागि कुनै पनि सहुलियत पाइएको छैन । केन्द्रमा सबै किसिमको सेवा सुविधाहरु छुटिएको भन्ने सुनिएको छ तर हामीले पाएका छैनौँ,’ सिलवाल भन्छन् । आगामी निर्वाचनमा राजनीतिक दल र स्वतन्त्रबाट पनि उम्मेदवार आइरहेको तर आफूले राम्रो काम गर्न सक्ने सक्षम युवा नेतृत्व छनोट गर्ने उनले बताए ।
उता, काठमाडौं–९ नागार्जुन टौखेलका सुनिल बाँस्कोटा निर्वाचन भनेको भोट हाल्ने कर्मकाण्डी काम रहेको जस्तो भएको बताउँछन् । आगामी निर्वाचनमा पुराना र नयाँ नेताहरु चुनावी मैदानमा रहेको तर नयाँ एजेण्डासहित आएका युवा नेतृत्वलाई छनोट गर्नुपर्ने उनको जोड रहेको छ ।
काठमाडौं १० मा पनि खानेपानी, सडक र ढलको समस्या उस्तै छ । ठूलो क्षेत्रफलमा फैलिएको सो क्षेत्रमा ठाउँअनुसार फरक फरक समस्या रहेका छन् । सो क्षेत्रवासी पनि अघिल्ला निर्वाचित सांसदहरुबाट त्यति सन्तुष्ट छैनन् । चुनावका बेला गरिएका बाचाहरु धेरै भए पनि काम गराइ प्रतिबद्धता अनुसार हुन नसकेको कृष भुर्तेल बताउँछन् ।
यसअघि निर्वाचित सांसदले काम गर्न नसकेका कारण अबको निर्वाचनबाट युवाहरुलाई अघि सार्नुपर्ने भन्दै उनले थपे, ‘युवाहरुलाई प्राथमिकता दिनुपर्छ । युवाहरुलाई चान्स दिनुपर्छ ।’
राजधानीमै रहेर पनि अझै पनि यातायातको समस्या रहेको उनी बताउँछन् । यता शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा पनि राम्रोसँग काम हुन नसकेको उनको बुझाइ रहेको छ ।
सोही क्षेत्रकी मतदाता पार्वती भुर्तेल पनि आफ्नो क्षेत्रमा पानी सडक लगायतको समस्या रहेको बताउँछिन् । तर पनि अघिल्लो अघिल्लो पटक निर्वाचित सांसदहरु भोट माग्नेबेलामा मात्रै आउने गरेका कारण अब नयाँ पुस्तालाई पालो दिनुपर्ने उनको जोड छ ।
समग्र काठमाडौंलाई फन्को मार्दा देखिएको दृष्टान्त माथि उल्लेख गरियो । सबै कुराबाट अन्य ठाउँभन्दा केही सुविधाले छोएको ठाउँलाईं राजधानी बनाइन्छ । तर भित्री बस्तीहरुमा पसेर बुझ्दा त्यहाँका समस्या पनि विकट गाउँका भन्दा धेरै फरक छैनन् ।
केही नेता र नेताको प्रवृत्तिका कारण नयाँ पुस्ता र नयाँ धारण स्थापित हुनुपर्ने धेरै मतदाताको मनसाय देखिन्छ । मतदानको सदन मंसिर ४ मतदाताको दैलोमै आइपुगेको छ । समस्या र गुनासाको चाङ बोकेर बस्ने मतदाताले पनि विवेक साक्षी राखेर मतदान गर्न सकून् । अन्यथा, अर्को पाँच वर्षमा फेरि यस्तै गुनासा र असन्तोषको पुलिन्दा फुकाउनुको विकल्प हुन्न !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया