काठमाडौं । मलेसियामा शनिबार भएको निर्वाचनमा पूर्वप्रधानमन्त्री महाथीर मोहम्मद पराजित भएका छन् ।
प्रधानमन्त्रीका रुपमा २२ वर्ष मुलुकको नेतृत्व गरेका उनले यस पटक जमानतसम्म पनि जोगाउन नसकेका हुन् ।
एसिया–प्रशान्त क्षेत्रको राजनीतिमै लामो समयदेखि प्रभाव जमाएका ९७ वर्षीय महाथीरको पराजयले उनको राजनीतिक यात्रा टुंग्गिन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
विगत ५३ वर्षको इतिहासमै महाथीर पहिलो पटक चुनावमा पराजित भएका हुन् । उनी सन् १९८१ देखि २००३ सम्म २२ वर्ष मलेसियाको प्रधानमन्त्री रहेका थिए । महाथीर जसले मलेसियालाई आजको हैसियत दिलाए उनैलाई मतदाताले पत्याएनन् र जमानत नै जोगाउन सकेनन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराका अनुसार उनले कुल सदर मतको ८ प्रतिशत पनि ल्याउन नसकेका हुन् ।
सन् २०१८ मा ९३ वर्षमा फेरि प्रधानमन्त्री बनेर उनले ‘संसारकै बढी उमेरको प्रधानमन्त्री’ बन्ने रेकर्ड पनि राखेका थिए । सन् २०१८को निर्वाचनमा उनले ठूलो अन्तरले निर्वाचन जितेका थिए । यस पटक भने उनले आफ्नो निर्वाचन क्षेत्र लंगकावीमा चौथो स्थान मै सीमित रहनु प¥यो ।
कुनै पनि पार्टीले बहुमत ल्याउन नसकेको मलेसियाको संसदको दुई सय २२ सिटमा सबैभन्दा बढी पकातान हरपन पार्टीले ८२, पेरिकातान नेसनल पार्टी ७३, बारिसान नेसनलले ३० र गाबुन्गान पार्टी सारावाकले २२ सिट जितेका छन् ।
जबकी महाथीरको होमल्यान्ड फाइटर्स पार्टीले भने एउटा पनि सिट जित्न सकेन र नराम्ररी पराजित बन्यो । जहाँ महाथीर लगायत उनका पार्टीका उम्मेदवारलाई हराउन ‘नो नट अगेन’ भन्ने अभियान चलेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया