ओलम्पिक एशिया छनोट : पहिलो हाफमा नेपाल एक-शुन्य गोलले अगाडि

काठमाडौं । म्यान्मारमा जारी जापान ओलम्पिक महिला फुटबल अन्तर्गत एशियन छनोटको अन्तिम खेलमा नेपालले बंगलादेशको सामना गरिरहेको छ । 

याङगोनस्थित थुनुवा स्टेडियममा आज भएको खेलको पहिलो हाफसम्म नेपालले १-० को अग्रता लिएको छ । नेपालका लागि खेलको १७ औँ मिनेटमा कप्तान निरु थापाले गोल गर्दै टिमलाई शुरुवाती अग्रता दिलाएकी थिइन् । 

बंगलादेशविरुद्धको खेल जित्नै पर्ने दवावका साथ मैदानमा उत्रिएको नेपालले  उत्कृष्ट खेल खेलिरहेको छ । नेपालले यसअघि भारत र म्यान्मारसँग खेलको दुवै खेलमा बराबरी गर्दै २ अंक मात्र बनाएको छ । 

समूह ‘सी’मा रहेको नेपाल २ अंकका साथ तेस्रो स्थानमा छ भने समान ४ अंक जोडेको म्यान्मार पहिलो र भारत दोस्रो स्थानमा छ । समूहको कमजोर मानिएको टिम बंगलादेशलाई हराउने रणनीतिका साथ नेपाली टिम उच्च मनोबलका साथ मैदानमा उत्रदैछ । 

नेपाल उत्कृष्ट तेस्रो टोली बन्दै दोस्रो चरणमा पुग्ने सम्भावना पनि कायमै रहेको छ । सन् २०२० को टोकियो ओलम्पिकका लागि पहिलो चरणमा एशियाबाट १८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रत्येक समूहका विजेता र उपविजेताले दोस्रो चरणको छनोटमा स्थान बनाउनेछन् । तेस्रो हुनेमा उत्कृष्ट दुईले समेत दोस्रो चरणको यात्रा तय गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?