काठमाडौं । कुनै बेलाकी चर्चित अभिनेत्री निरुता सिंह पछिल्लो समय फिल्ममा खासै देखिएकी थिइनन् । केही महिनाअघि रिलिज भएको चलचित्र ‘नाइँ नभन्नु ल ५’ मा उनको सानो भूमिका थियो । उक्त भूमिकालाई दर्शकले रुचाए पनि ।
यतिबेला भने निरुता फिल्म ‘दाल, भात, तरकारी’ को छायांकनका लागि नेपाल आएकी छिन् । झण्डै एक दशक नेपाली फिल्म क्षेत्रबाट हराएकी निरुता केही समयको ग्यापपछि फेरि अर्को सिनेमामा देखिन लागेकी हुन् ।
‘दर्पण छायाँ’ जस्तो नेपाली सुपरहिट चलचित्रमा अभिनय गरेकी यी नायिकाले ‘लहना’, ‘अजम्बरी नाता’, ‘दक्षिणा’ लगायतका फिल्ममा काम गरेकी छिन् । लामो समयपछिको कमब्याकमा निरुताको नेपाली फिल्मप्रतिको मोह बढेको छ । वुधवार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले आफू नेपाल आउँदा सबैभन्दा बढी खुशी मिल्ने बताइन् ।
चलचित्र ‘दाल, भात, तरकारी’ मा उनको बलियो भूमिका छ । फिल्ममा उनी हरिवंश आचार्यसँग जोडी बाँध्नेछिन् । विमानस्थलमा निरुताले भनिन्, ‘म मात्र होइन, पूरै परिवार नै हरिवंश, मदनकृष्ण दाइहरुको फ्यान हो, उहाँसँग काम गर्न पाउँदा एउटा सपना पूरा भएको जस्तो लागेको छ ।’
फिल्म युनिटका अनुसार चलचित्र ‘दाल, भात, तरकारी’ मा निरुताको भूमिका बिल्कुलै फरक हुनेछ भने उनी फिल्ममा प्रमुख भूमिकामा हुनेछिन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न फिल्मका निर्देशक सुदन केसी, प्रस्तुतकर्ता किरण केसी लगायत एअरपोर्ट पुगेका थिए । यही फिल्मका लागि निरुता झण्डै दुई महिना नेपालमै रहनेछिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया