नेपालले पाएको उपलब्धिले नयाँ पुस्तालाई फुटबलमा लाग्न हौसला मिल्नेछ : प्रशिक्षक

काठमाडौं । नेपाली महिला राष्ट्रिय टिमका प्रशिक्षक हरि खड्काले म्यान्मारमा नेपालले इतिहास रच्न सफल भएको बताएका छन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा बिहीवार पत्रकारसँग बोल्दै सो कुरा बताएका हुन् । ‘नेपालले ओलम्पिक एशिया छनोटको पहिलो सहभागितामा नै सफलता हात पार्न सफल भयो, यो नेपाली महिला फुटबलको ऐतिहासिक सफलता पनि हो’ उनले बताए । 

साथै उनले चीनसँगको मैत्रीपूर्ण खेलले नेपाललाई केही हदसम्म कमी कमजोरी सुधार्ने मौका समेत पाएको जानकारी दिए । 

‘हामीले चीनसँग खेलको तीन वटा मैत्रीपूर्ण खेलले नेपाललाई धेरै मद्दत पु¥याएको छ, चीनविरुद्ध खेल खेल्दा टिममा देखिएको कमि कमजोरीलाई सुधार्दै म्यान्मारमा उत्कृष्ट गेम्स खेल्न सफल भयौं’ उनले थपे । 
प्रशिक्षक खड्काले म्यान्मारको पाएको उपलब्धिले आउँदो नयाँ पुस्तालाई फुटबलमा लाग्न थप हौसला मिल्ने समेत बताए । 

उनले सम्बन्धित निकायले महिला फुटबलमा लगानी बढाए नेपाली टोलीले ठुला टिमसँग प्रतिस्पर्धा गर्न सक्ने बताए । 

यता टिमकी कप्तान निरु थापाले  वरीयतामा उच्च टोलीहरुसँग उत्कृष्ट खेलेको बताइन् । ‘नेपाल भन्दा फिफा वरियतामा माथिल्लो स्थानमा रहेको टिमसँग खेल्दा टिमको प्रर्दशनमा सुधार भएको छ, यो खेलले आगामी साफ च्याम्पियनसिपको लागि राम्रो तयारी भएको छ’ उनले भनिन् । 

टिमले जे सोचेर गएको थियो त्यो पुरा भएको समेत उनले बताइन् । 

‘टिमका सबै  खेलाडीहरुले चीनसँगको मैत्रीपूर्णबाट केही कमि कमजोरीहरुलाई सुधार्ने मौका पायो, त्यसअनुरुप नै सबै खेलाडीहरुले राम्रो खेल खेल्ने प्रयास ग-यौ, त्यहि अनुरुप हामी तीन वटै खेलमा बराबरी खेल्दै ओलम्किप छनोटको दोस्रो चरणमा पुग्न सफल भयौँ’ उनले भनिन् । 

सन् २०२० मा हुने टोकियो ओलम्पिकअन्तर्गत एशियन छनोट खेल्दै दोस्रो चरणमा पुगेको नेपाली टिम बिहीवार मात्रै स्वदेश फर्किएको हो ।

खेलाडीहरुलाई अखिल नेपाल फुटबल संघ ‘एन्फा’का अध्यक्ष कर्मा छिरिङ शेपा, राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त उपाध्यक्ष पिताम्बर तिम्सिना लगायत त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा स्वागत गरेका थिए । 

ओलम्पिक अन्तर्गत एशिया छनोटमा पहिलो पटक सहभागी भएको नेपालले समूह ‘सी’ अन्तर्गत भारत, म्यान्मार र बंगलादेशसँग समान एक—एक गोलको बराबरी गर्दै उत्कृष्ट खेल प्रर्दशन गरेको थियो ।

नेपालले समूहमा कुल ३ अंक बनाएपछि उत्कृष्ट तेस्रो टिम बन्दै दोस्रो चरणको यात्रा पक्का गरेको थियो । नेपाल रहेको समूहमा म्यान्मार विजेता तथा भारत उपविजेता बन्दै दोस्रो चरणमा पुगेको थियो । 

दोस्रो चरणका खेल आगामी अप्रिलमा हुनेछ । १० टिम रहने दोस्रो चरणबाट तीन टोली तेस्रो चरणमा प्रवेश गर्नेछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?