मैत्रीपूर्ण फुटबल : जर्मनी र चेक रिपब्लिक विजयी

एजेन्सी । रसियाविरुद्धको मैत्रीपूर्ण खेलमा पूर्व विश्वविजेता जर्मनी विजयी भएको छ । 

लेप्जिङमा बिहीवार राति सम्पन्न भएको खेलमा जर्मनीले रसियलाई ३-० गोल अन्तरले पराजित गर्न सफल भएको हो । खेल शुरु भएको ८ मिनेट पनि बित्न नपाउँदै जर्मनीका लागि लेरोय सानेले पहिलो गोल गर्दै टिमलाई शुरुवाती अग्रता दिलाए ।

इंग्लिस क्लब म्यान्चेस्टर सिटीका फर्वाड साने अन्तर्राष्ट्रिय खेलमा गरेको यो पहिलो गोल हो । 

त्यस्तै, २५ औँ मिनेटमा निक्लास सुलले गोल गर्दै टिमको अग्रतालाई दोब्बर पारे । एक पक्षिय रहेको खेलको ४० औँ मिनेटमा ग्नाब्रीले गोल गरे । 

खेलको पहिलो हाफसम्म ३-० गोल अन्तरले अगाडि रहेको जर्मनीले दोस्रो हाफमा भने थप गोल गर्न सकेन । दोस्रो हाफमा केही सुधारिएको खेल खेलेको रसियाले निर्धारित समयसम्म केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेलमा ३-० को हार बेहोर्न बाध्य भयो ।

यो जितसँगै जर्मनी सन् २०१८ मा खेलको १२ खेल मध्ये यो चौथो जित हो । रसिया विश्वकपको समूह चरणबाटै बाहिरिएको जर्मनीले अब युईएफए नेशन्स लिग अन्तर्गत यहि सोमवार नेदरल्याण्ड्सको सामना गर्दैछ । 

त्यस्तै बिहीवार राति नै भएको अर्को खेलमा चेक रिपब्लिकले पोल्याण्डलाई १-० गोल अन्तरले पराजित ग-यो ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म दुवै टिम गोलरहित बराबरीमा रोकिएका थिए ।  चेक रिपब्लिकका लागि दोस्रो हाफको ५२ औँ मिनेटमा जानक्टोले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो ।

यता रिपब्लिक अफ आयरल्याण्ड र नर्दन आयरल्याण्डबीचको खेल भने गोल रहित बराबरीमा सकिएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?