काठमाडौं । नायिका आँचल शर्माले केही दिनअघि मात्र फिल्म ‘दाल, भात, तरकारी’ ज्वाइन गरिन् । यसअघि उनले यही टिमसँग चलचित्र ‘शत्रु गते’ मा काम गरेकी थिइन् । बीचमा केही समय उनका हातमा कुनै फिल्म भएनन् ।
केही समयअघि आँचल शर्माले भन्ने गर्थिन्, ‘म अब सोलो फिल्ममा मात्र अभिनय गर्छु ।’
तर, अहिले फेरि उनी जम्बो टोली भएको फिल्ममा अभिनय गर्न पुगिन् । यतिबेला उनको चर्चा यही कारणले भएको छ । दर्शकले पनि उनको कथनलाई याद गरिरहेका थिए । आँचलले फेरि जम्बो टोलीमा अभिनय गर्ने पक्का भयो । फिल्ममा उनी यसै पनि वर्षा राउत, प्रियंका कार्कीसँगै थिइन् । यतिबेला भने झन् नायिकाको भीडमा निरुता सिंह पनि थपिएपछि उनी फेरि हराउने चर्चा चल्न शुरु हुन थालेको छ ।
बुधवार राति चलचित्र ‘दाल, भात, तरकारी’ का लागि निरुता सिंह मुम्बईबाट काठमाडौं आइन् । सोही क्रममा फिल्मका प्रस्तुतकर्ता किरण केसीले फिल्ममा निरुता सिंहको दमदार भूमिका भएको बताए । उनका अनुसार निरुता सिंह फिल्ममा हरिवंश आचार्यको अपोजिटमा छिन् । र, शुरुदेखि अन्तसम्म हरिवंश र निरुताको मुख्य भूमिका छ ।
चलचित्र ‘शत्रु गते’ मा पनि दीपाश्री निरौला र हरिवंश आचार्यको मुख्य भूमिका थियो । साथै अन्य चर्चित हास्यकलाकारको पनि उत्तिकै भूमिका थियो । जसका कारण उक्त फिल्ममा आँचलको भूमिका केन्द्रीय भूमिका भएर पनि गौण भएको थियो ।
अब ‘दाल, भात, तरकारी’ मा पनि उनको भूमिका लगभग उस्तै गौण हुने पक्का छ । जानेरै उनले आफ्नो बोली काट्दै यो फिल्ममा अभिनय गर्ने निर्णय गरेकी थिइन् । अब फेरि सोलो फिल्म मात्र खेल्छु भनेर चाहिँ आँचलले नभनून् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया