मनाङलाई अर्को झड्का, मिडफिल्डर बुढाथोकी आठ सातासम्म मैदान बाहिर रहने

काठमाडौं । मनाङ मस्याङदी क्लबका मिडफिल्डर प्रकाश बुढाथोकी आठ सातासम्म मैदान बाहिर रहने भएका छ । 

जारी शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत शनिवार भएको न्युरोड टिम ‘एनआरटी’ क्लबविरुद्धको खेलमा उनी घाइते भएका थिए । खेलका दौरानको उनको हातमा गम्भिर चोट लागेको थियो ।

मनाङमा यसैवर्ष मात्र भित्रीएका उनले कम्तीमा पनि आठ साता आराम लिनुपर्ने बताइएको छ । उनले सन् २०११ मा फ्रेण्ड्स क्लबबाट सिनीयर टिम डेब्यु गरेका थिए । २ वर्ष फेण्ड्स क्लबमा नै बिताएका बुढाथोकी थ्रिस्टार क्लबमा आवद्ध भएका थिए ।

उनले फ्रेण्ड्समा रहँदा १५ खेल खेल्दै ५ गोल गरेका थिए भने थ्रिस्टारमा २६ खेल खेल्दै ११ गोल गरेका थिए ।

राष्ट्रिय टिमबाट भने उनले ६ खेलबाट ४ गोल गरेका छन् । त्यस्तै मनाङका अर्का भरपर्दा खेलाडी सुजल श्रेष्ठ पनि घाइते भएका कारण मैदान बाहिर नै छन् । उनले प्रशिक्षणका दौरान घाइतेभएपछि अहिले आराम लिइ रहेका छन् ।

उनी मैदानमा फर्किन कम्तिमा ६ साता लाग्ने बताइएको छ । जारी लिगमा उत्कृष्ट खेल प्रर्दशन गर्दै आइरहेको मनाङका दुई खेलाडी घाइते हुँदा टिममा केही तनाव बढ्ने सक्ने देखिएको छ ।

शनिवार भएको खेलमा मनाङले एनआरटी क्लबलाई २-० गोल अन्तरले पराजित गरेको थियो । लगातार दोस्रो जीत हात पारेको मनाङले लिगमा ६ अंक बनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?