फिफा विश्वकपको नक आउट चरणका खेलहरु सकिएसँगै नयाँ कौतुहलताले विश्व तरंगित छ । बेल्जियम, जर्मनी, स्पेन जस्ता बलिया टिम विश्वकपबाट बाहिरिएका छन् ।
अर्जेन्टिना, नेदरल्यान्ड्स, क्रोएसिया, ब्राजिल, फ्रान्स, इंग्ल्याण्ड, मोरक्को र पोर्चुगलका टोली क्वाटरफाइनलमा पुगेका छन् । मंगलबार भएको अन्तिम १६ को खेलमा पोर्चुगलले स्वीट्जरल्याण्डलाई ६–१ ले हरायो । पोर्चुगलको जितमा नायकका रुपमा एकाएक देखा परे, गोन्कालो रामोस । जसले तीन गोल गरे । यो फिफा विश्वकप २०२२ को पहिलो ह्याट्रिक थियो ।
पोर्चुगलको जितमा २१ वर्षीय रामोसले तीन गोल र एक असिस्ट गरे । यो फिफा विश्वकपमा उनको डेब्यू खेल थियो । साथै, उनलाई क्रिस्टियानो रोनाल्डोको स्थानमा प्रारम्भिक प्लेइङ–११ मा समावेश गरिएको थियो । उनीमाथि दबाब पनि थियो तर रामोसले यो विश्वास कायम राख्दै पोर्चुगलको जित पक्का गरे ।
रामोसले १७ औं, ५१ र ६७ औं मिनेटमा गोल गरे । रामोसका अलावा पेपेले ३३औं, राफेल गुरेरोले ५५औं र राफेल लियाओले ९ं२औं मिनेटमा गोल गरेका थिए । रामोस पछिल्लो २० वर्षमा विश्वकपमा डेब्युमै ह्याट्रिक गर्ने दोस्रो खेलाडी बनेका छन् । उनीअघि सन् २००२ को विश्वकपमा जर्मनीका मिरोस्लाभ क्लोजले यस्तो गरेका थिए ।
यो उनको चौथो खेल मात्रै थियो । उनले चार खेलमा चार गोल गरेका छन् । उनले अन्तिम गोल यसै वर्ष नोभेम्बरमा नाइजेरियाविरुद्धको मैत्रीपूर्ण खेलमा गरेका थिए । रोनाल्डोभन्दा रामोसले विश्वकपको नकआउट चरणमा धेरै गोल गरेका छन् । रोनाल्डोले विश्वकपको नकआउट चरणमा एक गोल मात्रै गरेका छन् ।
को हुन् गोन्कालो रामोस ?
समूह चरणका खेलमा रामोसलाई मौका दिइएको थिएन । न त उनी विकल्पका रुपमा मैदानमा आएका थिए । पोर्चुगलको टोली रोनाल्डोसँगै मैदानमा उत्रिएको थियो । यद्यपि, राउन्ड अफ १६ मा रामोसले रोनाल्डोको ठाउँमा शुरुवाती लाइन अपमा आए र चमत्कार गरे । रामोसलाई रणनीति अनुसार मैदानमा उतारिएको थियो ।
वास्तवमा पोर्चुगलको टिम व्यवस्थापनले खेल पेनाल्टी सुटआउटमा गएको खण्डमा रोनाल्डोजस्तो अनुभव हुनुपर्छ भन्ने चाहेको थियो । यस कारणले गोन्जालो रामोसलाई पहिले पठाइएको थियो । यो रणनीतिले पोर्चुगलको लागि काम गर्यो । रामोसले पनि पाएको अवसरको सदुपयोग गरे ।
रामोसले विश्वकपको राउण्ड अफ–१६ खेलअघि अन्तर्राष्ट्रिय स्तरमा आफूलाई स्थापित गरेका थिएनन् । यद्यपि, उनलाई पोर्चुगल फुटबल क्लब बेन्फिकाका लागि सबै समयको उत्कृष्ट खेलाडी मानिन्थ्यो । उनलाई आगामी दिनमा पोर्चुगलको भविष्यका रुपमा समेत लिइएको छ । रामोसले यो वर्ष आफ्नो क्लब बेन्फिकाका लागि ११ लिग खेलमा ९ गोल गरेका छन् । उनी बेन्फिकाका सर्वाधिक गोलकर्ता पनि बनेका छन् । पोर्चुगलका लागि एक खेलमा तीन गोल गरेपछि केही स्टार क्लबले उनलाई सम्पर्क गर्न सक्ने अनुमान गरिएको छ ।
गोन्जालो रामोसको नाम पहिलो पटक २०१९ मा मिडियामा आएको थियो । त्यतिबेला उनले अन्डर–१९ युरोपियन च्याम्पियनसिपमा सर्वाधिक गोल गरेर प्रतियोगिताको शीर्ष स्कोरर बनेका थिए । पोर्चुगलको विश्वकप टोलीमा धेरै प्लेमेकर भएकाले उनको फिनिसिङ कौशल मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसका लागि महत्त्वपूर्ण साबित हुन सक्छ ।
पोर्चुगलको अर्को खेल मोरक्कोसँग :
पोर्चुगलले शनिबार क्वाटरफाइनलमा मोरक्कोसँग खेल्नेछ । मोरक्कोले प्रि–क्वार्टर फाइनलमा २०१० को च्याम्पियन स्पेनलाई पेनाल्टी सुटआउटमा हराएर पहिलो पटक क्वार्टरफाइनलमा प्रवेश गरेको थियो । पोर्चुगलले समूह चरणका तीन खेलमध्ये दुई खेल जितेको थियो । समूहको अन्तिम खेलमा पोर्चुगलले दक्षिण कोरियासँग हार बेहोरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया