काठमाडौं । जाडो मौसम सुरु भएको छ । यो मौसममा विशेष गरी बालबालिकामा श्वासप्रश्वास, झाडापखाला र छालासम्बन्धी मुख्य गरी तीन समस्या देखिन्छ ।
कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञ डा. रामहरि चापागाईंका अनुसार बालबालिकालाई सबैभन्दा बढी रुघाखोकी, श्वासप्रश्वासजन्य समस्या देखा पर्छ, यसका कारणले छातीमा समस्या देखियो भने निमोनिया हुन्छ ।
एक अध्ययनअनुसार विश्वमा प्रत्येक वर्ष पाँच वर्ष मुनिका ९ लाख २० हजार बालबालिकाको निमोनियाको कारण मृत्यु हुने गर्छ । राहिनो, इन्फ्लुन्जा तथा रेस्पिरेटरी सिन्साईटीयल तीन थरी भाइरसका कारण निमोनिया हुन्छ ।
बालबालिका र श्वासप्रश्वासजन्य समस्या
चिसो मौसममा श्वासप्रश्वासजन्य रोग एकबाट अर्कोमा सर्ने हुँदा बालबालिकामा बढी समस्या देखिन्छ । जाडो मौसममा बालबालिकाहरू प्रायः धेरै एकै ठाउँमा बस्ने हुँदा सरुवाजन्यहरू रोग सर्ने गर्छ ।
गर्मीयाममा झैँ झ्याल ढोका खुल्ला नराखी बस्दा सङ्क्रमणजन्य रोगका कीटाणुले आक्रमण गर्ने सम्भावना उच्च हुन्छ । प्रायः जाडोमा सबै जना एकै ठाउँ गुजमुज्ज भएर बस्ने चलन हुन्छ । यसले श्वास प्रश्वाससम्बन्धी विभिन्न किसिमका कीटाणुहरूको सङ्क्रमण हुन्छ ।
श्वासप्रश्वासमा समस्या गराउने जीवाणुहरू जाडो मौसममा लामो समयसम्म बाच्नेहुँदा पनि बालबालिकालाई बढी समस्या देखिन्छ । यस्तोमा बच्चालाई लुगा दुई/तीन वटा लगाइदिने तर, हातखुट्टा खुल्ला राख्दिने गर्दा पनि चाँडो बिरामी पर्छन् । बच्चालाई न्यानो लुगा लगाइदिएर उनीहरू बस्ने कोठा भने खुल्ला राख्नुपर्छ ।
कस्तो अवस्थामा अस्पताल जाने
बच्चालाई लामो समयसम्म रुघाखोकी लागेमा, चाँडो चाँडो छाती चली श्वासप्रश्वासमा समस्या भएमा, धेरै ज्वरो आउने भएमा चिकित्सकको सल्लाह लिएर मात्रै औषधि सेवन गराउनुपर्छ ।
अभिभावकले आवश्यकताभन्दा बढी बालबालिकालाई चिकित्सकको सल्लाह विना कफरिक ख्वाउने गरिन्छ । यो औषधि कम गुणस्तारको हुँदा विभिन्न देशमा स्वास्थ्यमा समस्या उत्पन्न समेत भएको थियो । त्यसरी औषधि नख्वाएर बच्चालाई अस्पताल लैजान डा चापागाईंको सुझाव छ ।
के निमोनिया दोहरिन्छ ?
एक पटक निमोनिया भएपछि पुनः निमोनिया हुन्छ भन्ने धेरैको बुझाइ छ । बालरोग विशेषज्ञका अनुसार एकपटक निमोनिया भएपछि अर्को पटक हुन्छ भन्ने भ्रम हो । रुघाखोकी जुन देशका नागरिकलाई पनि लाग्छ । नेपाल मात्र होइन, अमेरिकाका बालबालिकालाई पनि वर्षमा १०/११ पटक रुघाखोकी लाग्छ ।
रुघाखोकी लागेको बच्चालाई खानपानमा ध्यान नदिँदा, राष्ट्रिय खोप कार्यक्रम अन्तरगतका खोप नलगाउँदा, बालबालिका कुपोषित हुँदा, रोगविरुद्ध लड्ने क्षमता कम हुँदा छातीमा सङ्क्रमण भएर निमोनिया हुन्छ ।
यद्यपि एकपटक निमोनिया भएपछि पटक पटक निमोनिया हुँदैन । लामो समयसम्म कडा खालका औषधि सेवन गरेका बच्चाहरूलाई धेरै पटक निमोनिया हुन सक्छ । त्यसबाहेक एकपटक सानोमा निमोनिया भएका बच्चालाई खोकी लाग्दैमा निमोनिया हुन्छ भन्नु भ्रम पाल्नु मात्रै हो ।बालबालिकालाई खोकी लाग्नु, ज्वरो आउनु, घ्यार घ्यार हुनु, चाँडै चाँडै श्वास फेर्नु, बच्चा सुस्ता गतिमा चल्ने, खेल्ने, बोल्ने गर्नु, बच्चा नीलो हुनु लगायतका लक्षण देखियो भने निमोनिया हुन सक्छ ।
जुनसुकै रोगको उपचार: सरसफाइ
बालबालिकामा देखिने जुनसुकै रोगको उपचार भनेको सरसफाइ हो । गर्मीमा भन्दा जाडो मौसममा बच्चाहरूको सरसफाइ कम गरिन्छ । त्यसैले, बच्चाहरूलाई श्वासप्रश्वासको बढी समस्या हुने तथा अन्य रोगहरू लाग्छ ।
निमोनियाबाट बचाउनका लागि पहिला कुरा बच्चाहरूको सरसफाइमा ध्यान दिनुपर्छ । यस्तै, बालबालिकाको खानपानमा जति ध्यान दियो, त्यति नै रोग लाग्नबाट बच्चालाई बचाउन सकिन्छ ।
खोपले निमोनिया रोकिँदैन
निमोनियाको खोप लगाएर मात्रै निमोनिया हुनबाट बालबालिकालाई जोगाउन सकिँदैन । यदि बालबालिकालाई दादुरा विरुद्धको खोप नलगाइएमा उनीहरूलाई निमोनिया हुन सक्छ ।
त्यसैले निमोनिया हुने सम्भावना कम गर्न बालबालिकालाई राष्ट्रिय कार्यक्रममा अन्तर्गतका सबै खोप लगाउनुपर्छ । बच्चाहरूलाई राष्ट्रिय खोप अन्तर्गतको ६, १० र १४ हप्ता हुँदा लगाउने एच इन्फ्लुन्जी बी लगाउनुपर्छ ।
यस्तै बच्चालाई ६ हप्ता, १० हप्ता र ९ महिनामा दिइने पिसिभि खोप, परटुसिस खोप ९ र १५ महिनासम्म लगाउनुपर्छ । निमोनिया हुने सम्भावनाबाट बचाउन बच्चा ६ महिना पुरा भएपछि इन्फ्लुन्जाको खोप एक/एक वर्षमा लगाउन चिकित्सकहरू सुझाव दिन्छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार इन्फ्लुन्जा खोप सरकारको कार्यक्रमभित्र पर्दैन । यदि सम्भव छ भने बालबालिकालाई निमोनियाको खोप लगाइदिँदा पनि हुन्छ ।
चिसोबाट बालबालिकालाई जोगाउने
बालबालिकालाई चिसोबाट जोगाउन टाउको न्यानो बनाएर कान छोप्ने गरी टोपी तथा हातखुट्टामा चिसो नपस्ने गरी कपडा लगाइदिनुपर्छ । आमाले स्तनपान गराउँदा बच्चा न्यानो वा चिसो कस्तो छ, ख्याल गर्नुपर्छ । नवजात शिशुको हातखुट्टा, तालु छाम्दा आमाले चिसो भए नभएको थाहा पाउन सक्छन् ।
प्रशस्त मात्रामा झोलिलो पदार्थ ख्वाउनु पर्छ । नियमित रूपमा बालबालिकालाई स्तनपान गराउनुपर्छ । जसले गर्दा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढी हुन्छ । आमाको दूधसँगै थप सन्तुलित पौष्टिक आहार पनि ख्वाउनु पर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया