टी-१० क्रिकेट लिग : सन्दिप ‘प्लेयर अफ दी म्याच’ घोषित

काठमाडौं । नेपाली टिमका लेग स्पिनर सन्दिप लामिछाने संयुक्त अरब इमिरेट्स ‘युएई’मा जारी टी-१० क्रिकेट लिगमा ‘प्लेयर अफ दी म्याच’ घोषित भएका छन् । 

डिफेन्डिङ च्याम्पियन केरला किङग्सबाट खेल्दै उत्कृष्ट प्रर्दशन गरेका सन्दिप ‘प्लेयर अफ दी म्याच’ घोषित भएका हुन् । बुधवार राति भएको खेलमा सन्दिपको टिम केरला किङग्सले साहिद अफ्रिदिको टिम पख्तुनलाई ८ विकेटले हराएको हो ।

पख्तुनले निर्धारित १० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९ रनको योगफल तयार पारेको थियो ।   पख्तुनलाई सस्तैमा समेट्न सन्दीपले २ ओभर बलिङ गर्दै १७ रन खर्चेर ३ विकेट लिएका थिए ।

साथै उनले पहिलो ओभरमै दुई विकेट पनि लिए । चौथो ओभरमा बलिङ गरेका उनले वेष्ट इण्डिजका आन्द्रे फ्लेचरलाई ३२ रनमा पेभेलियनमा फर्काए ।  

अन्तिम बलमा सन्दीपले दक्षिण अफ्रीकाका कोलिन इन्ग्रामलाई १ रनमा आउट गरे । छैटौं ओभरको चौथो बलमा भने उनले मुहमद कलिमलाई शुन्य रनमा पेभेलियनमा फर्काए ।  १ सय १० रनको लक्ष्य लिएर मैदानमा उत्रिएको केरलाले निर्धारित लक्ष्य ७ दशमलब ५ बलमा मात्र २ विकेट गुमाउँदै पुरा ग-यो ।

 केरलाका लागि कप्तान इयान मोर्गनले अविजित ४६ रन, केइरन पोलार्डले ११ रन, पाउल स्ट्रलिङले ४० रन तथा क्रिस गेलले १३ रन जोडे । गत आइतवार मात्र टी-१० फर्माटको क्रिकेट खेल्न युएई गएका सन्दीपलाई केरलाले ३० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो ।

उनले यसअघि इन्डियन प्रिमियर लिग, अफगानिस्तान प्रिमियर लिग लगायत थुपै चर्चित अन्तर्राष्ट्रिय प्रतियोगिताहरु पनि खेलिसकेका छन् ।  उनलाई गत मंगलवार मात्र पाकिस्तान सुपर लिगका लागि लाहोर कालान्दरमा अनुबन्ध गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?