कर्मचारीलाई शहरी मन्त्री चौधरीको प्रश्न : काममा ढिलाई गर्दा कमिसन बढ्छ ?

लोकपथ
28
Shares

काठमाडौं । शहरी विकास मन्त्री मेटमणि चौधरीले निर्माणाधिन सरकारी संरचनामा भइरहेको ढिलाईप्रति गम्भीर असन्तुष्टि जनाएका छन् । मन्त्रालय सम्हाले लगत्तै उपत्यका भित्र निर्माणाधिन ठूला संरचनाहरुको एकसरो अनुगमन गरेका शहरी मन्त्री चौधरीले पुनः तीनै संंरचनाहरुको अनुगमण सुरु गरेका छन् ।

शनिबार भैंसेपाटीमा निर्माणाधिन संघीय मन्त्री, सभामुख, मूख्यमन्त्री तथा प्रदेश प्रमुखका निवासहरुको स्थलगत निरीक्षण लगत्तै मन्त्री चौधरीले सम्बन्धित विभाग, ठेकेदार कम्पनिसँग छलफल गरेका छन् । ‘काममा किन ढिलाई भइरहेको छ ? पाँच महिना पछि आउँदा पनि अवस्था किन उस्तै छ ? ढिलाई गर्दा कमिसन बढ्छ ?’ मन्त्रीको प्रश्न पछि कर्मचारीले कोभिडका कारण ढिलाई भएको बताएका थिए ।

‘कोभिड त सकिएन र ?’ लगत्तै मन्त्रीले प्रश्न गरे । ‘स्थानीयले दुःख दिँदा काम गर्न सकिएन हजुर ।’ ‘के उपाय गरेर हुन्छ, काम छिटो सक्नुस् । मैले के गर्नु पर्याे मलाई भन्नुस् ।’ मन्त्रीको जवाफ थियो । त्यसलगत्तै शहरी मन्त्री चौधरी भैंसेपाटीबाट सिधै राजदरबार परिसरभित्र रहेको गणतन्त्र स्मारकको निरीक्षणमा हानिए ।

त्यहाँ पनि सोचे अनुरुप प्रगति नदेख्दा मन्त्री चौधरी थप असन्तुष्ट बने । सम्बन्धित पक्षलाई उनले छलफलका लागि आइतबार मन्त्रालयमा आउन निर्देशन समेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?