आयरल्याण्डका क्रिकेटर स्टिलिर्ङले चितवन टाइगर्सबाट खेल्ने

काठमाडौं । यही मंसिर २२ गतेदिख शुरु हुने एभरेष्ट प्रिमियर लिग ‘इपिएल’ टी-२० क्रिकेट प्रतियोगिताका लागि सहभागी टोलीले धमाधम विदेशी खेलाडी भित्र्याउन थालेका छन् । 

प्रतियोगिताका लागि प्रत्येक टोलीले तीन-तीन जना विदेशी खेलाडी अनुबन्ध गर्नुपर्ने नियमानुसार क्लबहरुले विदेशी खेलाडीलाई क्लबमा भित्र्याउन थालेका हुन्। शुक्रवार चितवन टाइगर्सले आयरल्याण्डका विकेट किपर पाउल स्टिलिर्ङलाई क्लबमा अनुबन्ध गरेका छन् ।

चितवनले प्रेस विज्ञप्ति जारी गर्दै स्टिलिर्ङलाई क्लबमा अनुबन्ध गरेको जनाएको छ । अनुबन्धको रकम भने खुलाइएको छैन् । 

निकै अनुभवी खेलाडी स्टिलिर्ङसँग बंगलादेश प्रिमियर लिग खेलेको अनुभव समेत रहेको क्लबले जनाएको छ । त्यसैगरी ललितपुर प्याट्रियट्सले तीन विदेशी खेलाडी अनुबन्ध गरेको छ। 

क्लबका अनुसार ललितपुरले यस संस्करणका लागि भारतीय खेलाडी जय किशन कोल्शावाला, सन्नी पटेल र गौरब तोमारलाई क्लबमा अनुबन्ध गरेको हो । 

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुरले जय किशन र सन्नीको अनुबन्ध थप गरेको हो । दुवैले गत सिजन ललितपुरबाटै खेलेका थिए । गौरब भने पहिलोपटक ललितपुरबाट खेल्न लागेका हुन्। 

पुस ७ गते समापन हुने प्रतियोगितामा ६ शहरका छ टोली विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौं किङ्ग्स ११, ललितपुर प्याट्रिओट्स, चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?