काठमाडौं । अर्जेन्टिनाका कप्तान तथा स्टार खेलाडी लियोनल मेस्सीले सन् २०२२ को फिफा विश्वकपपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने स्पष्ट पारेका छन् । यस विश्वकपको फाइनल खेलमा मेस्सी अन्तिम पटक आफ्नो देशका लागि खेल्ने भएका छन् ।
मेस्सीका लागि आफ्नो टोलीलाई च्याम्पियन बनाएर विश्वकप जित्ने र आफ्नो नाममा गोल्डेन बुट जित्ने यो निकै राम्रो अवसर रहेको छ ।
लियोनल मेस्सी आफैले डिसेम्बर १८ मा हुने फिफा विश्वकप २०२२ को फाइनलपछि सन्यास लिने कुरा पुष्टि गरेका छन् ।
क्रोएसियाविरुद्धको सेमिफाइनल मेस्सीले पेनाल्टीमा गोल गर्दै टोलीलाई फाइनलमा पुर्याएका थिए । उनी बाहेक, जुलियन अल्भारेजले दुई उत्कृष्ट गोल गरेपछि अर्जेन्टिनाले क्रोएसियालाई ३-० ले हराएर फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो । यसपछि मेस्सीले अन्तिम पटक आफ्नो देशका लागि फाइनल खेल्ने स्पष्ट पारेका हुन् ।
फाइनलमा आफ्नो अन्तिम खेल खेलेर विश्वकप यात्राको अन्त्य गर्दै अर्जेन्टिनाको मिडिया आउटलेट डायरियो डेपोर्टिभो ओलेलाई मेस्सीले भने, ‘यो उपलब्धि हासिल गर्न पाउँदा म धेरै खुसी छु।अर्को विश्वकप आउन धेरै वर्षहरू छन् र मलाई लाग्दैन कि म अर्को विश्वकपमा खेल्नेछु ।’
३५ वर्षीय मेस्सी आफ्नो पाँचौं विश्वकप खेल्दै छन् । उनले चार विश्वकप खेलेका अर्जेन्टिनाका डिएगो म्याराडोना र जाभियर मास्चेरानोको रेकर्डलाई पछाडि छोडेका छन् । मेस्सीले कतार विश्वकपमा आफ्नो पाँचौं गोल गरेका छन्
विश्वकपमा मेस्सीको उत्कृष्ट यात्रा सन् २०१४ मा अर्जेन्टिनाको टोली फाइनलमा पुगेको थियो। तर, फाइनलमा अर्जेन्टिनालाई हराउँदै जर्मनीले उपाधि कब्जा गरेको थियो । यसपटक मेस्सी आफ्नो टोलीलाई च्याम्पियन बनाउन चाहन्छन् । अर्जेन्टिना छैटौं पटक फिफा विश्वकपको फाइनलमा पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया