काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको सञ्चालक सम्बन्धी व्यवस्थामा कडाई गरेको छ । राष्ट्र बैंकले बिहिवार वाणिज्य बैंक, विकास बैंक, फाईनान्स कम्पनी र पुर्वाधार विकास बैंक र लघुवित्त वित्तीय संस्थाहरुको नाउँमा समेत छुट्टाछुुट्टै परिपत्र जारी गर्दे सञ्चालक सम्वन्धी व्यवस्थामा कडाई गरेको हो ।
परिपत्र अनुसार नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त “क”, “ख”, “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन,परिमार्जन तथा थप सम्बन्धमा टाट नपल्टेको वा भ्रष्टाचार वा बेइमानी वा जालसाजीको आरोपमा सजाय नपाएको व्यक्ति मात्र सञ्चालक हुन पाउने उललेख गरिएको छ । प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि नदेखिएको वा आपराधिक पृष्ठभूमि देखिएको भए सजाय भुक्तान गरेको पाँच वर्ष व्यतीत भई सकेको व्यक्ति मात्र सञ्चालक हुन पाउने छ ।
परिपत्र अनुसार प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि देखिएको व्यक्ति भए सजाय भुक्तान गरी सफाई पाएको पाँच वर्ष व्यतीत भई नसकेको व्यक्ति वाणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनीहरुमा सञ्चालक हुन पाउने छैन ।
पुर्वाधार विकास बैंकको हकमा पनि राष्ट्र बैंंकले बिहिवार नै परिपत्र जारी गरी सञ्चालक सम्वन्धी व्यवस्थामा कडाई गरेको छ । परिपत्रमा भनिएको छ, नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त पूर्वाधार विकास बैंकलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन,परिमार्जन तथा थप सम्बन्धमा चोरी, ठगी, भ्रष्टाचार वा अन्य फौजदारी अभियोग तथा बैंकिङ कसुरमा सजाय नपाएको व्यक्ति मात्र पुर्वाधार विकास बैंकमा सञ्चालक हुन पाउने छन् ।
प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि नदेखिएको वा आपराधिक पृष्ठभूमि देखिएको भए सजाय भुक्तान गरेको पाँच वर्ष व्यतीत गरिसकेको व्यक्ति मात्र सञ्चालक हुन पाउने छन् । परिपत्र अनुसार प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि देखिएको व्यक्ति भए सजाय भुक्तान गरेको पाँच वर्ष व्यतीत भई नसकेको व्यक्ति पुर्वाधार विकास बैंकमा सञ्चालक हुन पाउने छैनन् ।
यसैगरी नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन, परिमार्जन तथा थप सम्बन्धमा पनि टाट नपल्टेको वा भ्रष्टाचार वा बेइमानी वा जालसाजीको आरोपमा सजाय नपाएको व्यक्ति मात्र लघुवित्त वित्तीय संस्थामा सञ्चालक हुन पाउने छन् ।
प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि नदेखिएको वा आपराधिक पृष्ठभूमि देखिएको भए सजाय भुक्तान गरेको पाँच वर्ष व्यतीत भई सकेको व्यक्ति लघुवित्त सञ्चालक हुन पाउने छ । प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि देखिएको व्यक्ति भए सजाय भुक्तान गरेको पाँच वर्ष व्यतीत भई नसकेको व्यक्ति कुनै पनि लघुवित्त वित्तीय संस्थाहरुमा सञ्चालक हुन पाउने छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया