महिला विश्वकप क्रिकेट : इंग्ल्याण्डद्वारा अस्ट्रेलियासामु १ सय ६ रनको चुनौती

एजेन्सी । ‘आइसीसी’ महिला विश्वकप क्रिकेटको उपाधिका लागि इंग्ल्याण्डले अस्ट्रेलियासामु १ सय ६ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

सर भिभियन रिचार्डस स्टेडियममा आइतवार भएको खेलमा इंग्ल्याण्डले अस्ट्रेलियासामु सामान्य रनको चुनौती प्रस्तुत गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले १९ दशमलब ४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५ रनको योगफल तयार पारेको थियो ।

इंग्ल्याण्डका लागि ओपनर ब्याट्स विमेन ड्यानियल वेटले सर्वाधिक ४३ रन तथा कप्तान हिटर नाईटले २५ रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । ताम्सिन बौउमोट र एमी जोन्स समान ४-४ अंक जोड्दै पेभेलियनमा फर्किएकी थिइन् ।

इंग्ल्याण्डलाई सस्तैमा समेट्ने क्रममा अस्ट्रेलियाका आस्ली गार्डनरले सर्वाधिक ३ विकेट लिइन् । त्यस्तै मेगन सह्ट र जर्जिया वेरह्यामले समान २-२ विकेट हात पारिन् । अहिले अस्ट्रेलिया विजयी लक्ष्य लिएर मैदानमा ब्याटिङ गरिरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?