लभ र ब्रेकअप पनि फिल्मको करिअरजस्तै रैछः सलोन बस्नेत

काठमाडौं । कलाकार सलोन बस्नेतको नायिका करिश्मा श्रेष्ठसँग ब्रेकअप भयो । यी दुईले प्रेममा नरहेको र अब साथीमात्र रहेको प्रतिक्रिया पनि दिए । लामो समय रिलेशनमा बसेका सलोन र करिश्मा दुवैले ब्रेकअप स्वीकारे पनि के कति कारणले भयो भन्ने खुलाउन चाहेनन् । यतिबेला सलोन अभिनित फिल्म ‘सुश्री सम्पत्ति’ रिलिजको क्रममा छ । प्रायः सिनेमामा उनी साथीको मिल्ने साथीको भूमिकामा देखिन्छन् ।

सलोनले आफू वास्तविक जीवनमा पनि त्यस्तै मिल्ने भएको बताएका छन् । उनी आफू फिल्मका प्रायः भूमिकामा देखिने कलाकारको झैँ साथी भनेपछि समय छुट्याइहाल्ने स्वभावको भएको बताए ।

‘म शूटिङको बाँकी समय साथीहरुका लागि नै छुट्याएको हुन्छु, फिल्ममा पनि म एकदमै मिल्ने र सहयोगी साथीको भूमिकामा देखिन पाउँदा खुशी लाग्छ,’ सलोनले भने, ‘मेरा लागि परिवारपछिका सबैभन्दा नजिक भनेका साथीहरु नै हुन् ।’

साथीहरुलाई समय दिन रुचाउने सलोनको स्वभाव पनि गज्जबको भएको उनी निकटका साथीहरु बताउने गर्छन् । रमाइलो गर्नमा पनि उत्तिकै रुचि राख्ने सलोनले करिश्मासँग भएको ब्रेकअपलाई फिल्मको करिअरजस्तै उतारचढावका रुपमा लिएको बताए । उनले भने, ‘ब्रेकअप पनि फिल्मको करिअरजस्तै रैछ, कहिले आरोह, कहिले अवरोह आउने रैछ ।’

उनी अभिनित चलचित्र ‘सुश्री सम्पत्ति’ चाहिँ यही मंसिर २८ गतेबाट प्रदर्शन हुँदैछ । सिनेमामा विनोद न्यौपाने, सारा सिर्पाली, राजाराम पौडेल, प्रमोद अग्रहरी लगायतका कलाकारको समेत अभिनय रहेको छ ।

चलचित्रलाई सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?