काठमाडौं । विभागिय क्लब आर्मी क्लब जारी शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शिर्ष स्थानमा उक्लिएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सोमवार भएको पहिलो खेलमा आर्मी क्लबले संकटा क्लबलाई ५-१ गोल अन्तरले पराजित गरेको हो । खेल शुरु भएको १० मिनेट पनि बित्न नपाउँदै संकटाका लागि म्याक्सवेल एलोनले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।
१३ औँ मिनेटको खेल चलिरहँदा टंक बस्नेतलाई संकटाका अमित तामाङले फल गरेपछि आर्मीले पेनाल्टी हान्ने मौका पाएको थियो । सो अवसरलाई आर्मीका सन्तोष तामाङ सदुपयोग गर्न सकेन । उनको प्रहार क्रस बारमा लागेर फर्किएको थियो ।
खेलको १७ औँ मिनेटमा टेक बहादुर बुढाथोकीले पहिलो गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए । ३० औँ मिनेटमा भरत खवासले गोल गर्दै क्लबको अग्रतालाई दोब्बर पारे ।
पहिलो हाफसम्म २-१ गोल अन्तरले अगाडि रहेको आर्मीका लागि ६३ औँ मिनेटमा सन्तोष तामाङले गोल गरे । लिगमा अपराजित संकटालाई आर्मीले खेल अवधिभर दवावमा राखेको थियो । ६६ औँ मिनेटमा बुढाथोकीले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरे ।
एक पक्षिय रहेको खेलको ७७ औँ मिनेटमा दिनेश हेन्जनले गोल गरे । त्यसपछि खेलमा थप गोल भएन र खेल आर्मीले ५-१ गोल अन्तरले जित्यो । जितपछि आर्मी क्लब १० अंक बनाउँदै लिगको शिर्ष स्थानमा उक्लिएको हो ।
९ अंकका साथ मनाङ मस्याङदी क्लब लिगको दोस्रो स्थानमा छ ।
यसअघि आर्मी क्लबले दुई खेलमा जीत र एक खेलमा बराबरी खेलेको थियो भने संकटा क्लबले भने पहिलो हार बेहोरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया