काठमाडौं । सारा सिर्पालीको मुख्य भूमिका रहेको चलचित्र ‘सुश्री सम्पत्ति’ यही मंसिर २८ गतेबाट प्रदर्शनमा आउँदैछ । यही फिल्मका कारण पनि सारा यतिबेला चर्चामा छिन् । एक्सन स्टार निखिल उप्रेतीसँग अभिनय गरेर नेपाली फिल्म क्षेत्रमा भित्रिएकी सारा ‘सुश्री सम्पत्ति’ मा चाहिँ युवा कलाकार सलोन बस्नेत र विनोद न्यौपानेसँग देखिँदैछिन् ।
तर, साराको चर्चा भने यतिबेला फिल्मका कारण मात्र छैन । पछिल्लो समय उनको चर्चा फिल्मका कारण मात्र नभएर युवास्टार अनमोल केसीको नामसँग जोडिएका कारण पनि छ । बजारमा गाइँगुइँ सुनिन थालेको छ – के अनमोल र सारा प्रेममा छन्?
यसबारेमा अनमोल त बोलेका छैनन् । साराले भने आफू प्रेममा नरहेको बताइन् । उनले अनमोलले फिल्म ‘रुद्र’ र ‘पिंजडा ब्याक अगेन’ मा आफूलाई बधाई दिएको पनि खुलाइन् । तर, कहिलेकाहीँ कुरा भएपनि त्यस्तो प्रेममा नरहेको उनले दाबी गरिन् । आफूहरु साथी भएको चाहिँ उनले स्वीकारिन् ।
उनले जिस्किँदै भनिन्, ‘हो र? म प्रेममा छु र? खै मलाई त थाहा छैन ।’
फिल्म ‘सुश्री सम्पत्ति’ मा एकसाथ देखिएका सलोन र विनोदसँग समेत उनले जिस्किँदै यसको बारेमा केही थाहा नभएको बताइन् । यद्यपि बजारमा भने सारा र अनमोल प्रेममा रहेको गसिप चलिरहन्छ ।
रमाइलो कुरा त अनमोल केसीले इन्स्टाग्राममा सारालाई फलो गरेका छन् । सारा सिर्पालीले पनि अनमोल केसीसँग फिल्म खेल्ने इच्छा जाहेर गरेकी छिन् ।
यी दुईको प्रेम छ या गसिप बनेको हो, त्यो त समयले बताउला । अहिले भने सारा रिलिजको मुखमा रहेको फिल्मको प्रचारमा व्यस्त छिन् भने अनमोल चलचित्र ‘ए मेरो हजुर ३’ को छायांकनमा व्यस्त छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया