काठमाडौं । पहिलो संस्करणको ‘एमएम कप’ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी पुस २१ देखि माघ ७ गतेसम्म इनरुवामा हुने भएको छ ।
शान्ति दीप नेपाल इनरुवा तथा इनरुवा नगरपालिकाको संयुक्त आयोजनामा हुने सो प्रतियोगितामा १२ टोलीले प्रतिस्पर्धा गर्ने बताइएको छ । प्रतियोगितामा तीन विभागीय, सात प्रदेश, एक स्थानीय र एक पाहुना टोलीको सहभागिता रहने प्रतियोगिता संयोजक विप्लप घोषले जानकारी दिए ।
विजेताले उपाधिसँगै चार लाख एक हजार, उपविजेताले दुई लाख एक हजार तथा सेमिफाइनलमा पुग्ने टोलीले समान २५-२५ हजार रुपैयाँ पाउनेछन् ।
उत्कृष्ट खेलाडीले ५१ हजार प्राप्त गर्दा उत्कृष्ट बलर र ब्याट्सम्यानले जनही २० हजार १ सय पुरस्कार पाउनेछन् । अनुशासित टोलीले १५ हजार र उदीयमान टोलीले १० हजार नगद पाउनेछन् ।
नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको सन्दर्भमा प्रतियोगिता गर्न लागिएको जानकारी दिएको हो । यता राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले काठमाडौँबाहिर ठूलो प्रतियोगिता हुन लागेको कारण राखेपले भौतिक र आर्थिक सहयोग गर्ने बताए ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमटाले स्थानीय क्लबले ५० ओभरको खेल खेलाउन महत्वपूर्ण भएको बताउँदै राष्ट्रिय टोलीका तर्फबाट आवश्यक सहयोग गर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया