एन्फा र क्लबलाई अन्जनको प्रश्न : खेलाडीको रगत पसिनामा कहिलेसम्म तपाईंहरुको रजाइँ ?

लोकपथ
147
Shares

काठमाडौं । नेपालको चर्चित सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्योलमा रहेको छ । एन्फाले शीर्ष डिभिजन लिग पुस २६ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको भएपनि लिगको तयारीको विषयमा पछिल्लो समय एन्फासँग ए डिभिजनका क्लबहरुले असन्तुष्टि जनाउँदै आएका कारण लिग कहिलेबाट हुन्छ भन्ने विषय अन्योलमा रहेको छ । एन्फा र क्लबबीच लिगबारे निर्णय गर्न आगामी बिहीबार बैठक बस्दैछ । उक्त बैठकपछि लिग शुरु हुने अपेक्षा गरिएको छ ।

यसैबीच देशमा हुने एउटा लिगमा पनि यस्ता विभिन्न समस्याका कारण अन्योल उत्पन्न भएपछि नेपाली राष्ट्रिय फुटबल टिमका अन्जन विष्टले नेपाल फुटबल संघ (एन्फा) र क्लबलाई प्रश्न गरेका छन् । अन्जनले शुक्रबार आफ्नो सामाजिक सञ्जाल फेसबुकबाट एन्फा र क्लबलाई प्रश्न गरेका हुन् ।

फुटबललाई नै जीवन मानेर हिँडेका खेलाडी फुटबल खेल्नबाट बञ्चित भएको बताउँदै अन्जनले यसरी देशको फुटबल कहाँ पुग्छ  ? भन्दै प्रश्न गरेका छन् ।  साथै,  एक–अर्कालाई दोष लगाएर कहिलेसम्म लिग सार्नुहुन्छ ? उनले आक्रोश व्यक्त गरेका छन् ।

अञ्जन लेख्छन्…

‘नेपाल जस्तो सुन्दर देशमा जन्मन पाउनु गर्वको कुरा हो । फुटबललाई मनबाट माया गर्ने लाखौ समर्थक भएको देशमा एक फुटबल खेलाडी हुन पाउँदा पनि निकै खुसी लाग्छ । तर… अवस्था फेरिएको छ, म जस्तो फुटबललाई नै आफ्नो सबथोक मानेर हिँडेको खेलाडी फुटबल नै खेल्न बञ्चित हुँदा समेत हाम्रो अभिभावक एन्फा किन यस्तो ढिलासुस्ती गर्दै हुनुहुन्छ ? लिग तपाईहरूले गर्ने हो कि कस्ले ? पटक–पटक लिग सार्दा तपाईँहरुलाई खेलाडीहरुको चिन्ता लाग्दैन ? अझै धेरै खेलाडीहरू विदेशिएको देख्न चाहनुहुन्छ ? प्रिय ए डिभिजन क्लबहरू तपाईहरू कहिले हुनुहुन्छ तयार लिग खेल्न ? केही क्लब तयार नभएको सुन्छु, आर्थिक भार बढ्छ रे, एन्फाले समयमा नै पैसा उपलब्ध नगराएकोमा।

तपाईंहरुको मेहेनत बिना एन्फाको अनुदानमा मात्रै आजसम्म नेपाली फुटबलमा तपाईंहरुले आफ्नो क्लबको इतिहास राख्नु भएको त पक्कै होइन होला ? हजुरहरुको आवश्यकता र चिन्ताप्रति हाम्रो पनि सम्मान रहेको छ तर हिजोदेखि आजसम्मको नेपाली घरेलु फुटबलको ईतिहासलाई पनि फर्केर हेर्नुस् त, नेपालमा कति पटक लिग रोकियो ? क्लब र एन्फाको लफडामा कति खेलाडिहरु पलायन भए उक्त समयकाे लेखाजोखा छ एन्फा र क्लबसँग ? खेलाडिको जीवन चाँही जीवन होइन ? खेलाडीलाई परेको आर्थिक भार कसले बुझ्ने ? हुन पनि बिचरा हामी खेलाडीले के नै गर्न सक्छौ त्यही आवाज उठाउँछन्, त्यो नि कसले पो सुन्छ र !

यसरी पनि देशको फुटबलको स्तर बढ्छ र ? एन्फाका पदाधिकारीज्यूहरू, ए डिभिजन क्लबहरु, यसरी हाम्रो देशको फुटबल कहाँ पुग्छ ? नेपाली फुटबल र नेपाली खेलाडीको नि माया गर्नुस, आखिर कहिलेसम्म एकले अर्कोलाई दोष लगाउदै लिगलाई पर पर धकाल्नु हुन्छ ? खेलाडिहरुको रगत पसिनामा कहिलेसम्म तपाईंहरु स्वार्थपुर्ति गर्नुहुन्छ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?