‘तिम्रो मेरो साथ’ रिलिज हुँदै

लोकपथ
21
Shares

काठमाडौं । नेपाली फिल्ममा संख्यात्मकरूपमा थोरै फिल्ममा अभिनय गरे तापनि स्थापित भएकी अभिनेत्री हुन् सम्राज्ञी राज्यलक्ष्मी शाह । ‘ड्रिम्स’ मार्फत डेब्यु गर्दा नै फरक देखिए पश्चात उनको डिमाण्ड फिल्ममा बढ्दै गयो ।

यिनै अभिनेत्री शाह पछिल्लो समय अभिनेता पुष्प खड्कासँग देखिरहेका छन् । उनको दुईले मङ्गलम, मारुनीपश्चात अभिनय गरेको तेस्रो फिल्म ‘तिम्रो मेरो साथ’ पुस २९ मा रिलिज हुँदैछ ।

अभिनेत्री शाहले अतिथि भूमिकामा अभिनय गरेको पहिलो फिल्ममा काम गर्दा उनीहरूको चिनजान नै थिएन । फिल्मको ट्रेलर सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा पुष्पले भने, ‘हाम्रो भेट नै दोस्रो फिल्मका लागि भएको थियो । उहाँको कामप्रतिको लगाव तारिफयोग्य छ । हामी मिल्ने साथी बनिसकेका छौँ ।’ तेस्रो फिल्ममा काम गर्दा झनै एकअर्कालाई बुझ्न पाएको उनले बताए ।

फिल्मनगरीसँग घुलमिल नभएकी अभिनेत्री शाहले पनि अभिनेता खड्कासँग काम गर्न पाउँदा ‘कम्फर्ट फिल’ हुने बताइन् । ‘हामीले काम गर्ने शैली बुझिसकेका छौँ । त्यसैले तेस्रो सहकार्यमा झनै सजिलो भयो’, अभिनेत्री शाहले भनिन्, ‘मैले आफू सुहाउँदो भूमिकाभन्दा बाहिर निस्केर काम गर्ने कोसिस गरिरहेकी छु । क्यारेक्टरमा आफूलाई देखेपछि अभिनय गर्न तयार हुन्छु ।’

पत्रकार सम्मेलनमा उनी दुईलाई अभिनय गराउनुका कारण सुहाउँदो केमेष्ट्री रहेको निर्देशक रमेश एमके पौडेलले बताए । ‘उहाँहरूको फिल्म दर्शकले प्रतीक्षा गरिरहनु भएको जस्तो लाग्छ । मैले तयार गरेको कथामा समेत उहाँ दुई फिट हुनुभयो’, निर्देशक पौडेलले भने, ‘बाहिर जे–जस्तो हल्ला सुनिएता पनि अभिनेत्री शाहसँग काम गर्न निकै सहज र सरल भयो ।’

फिल्ममा सन्दीप क्षेत्री, सरोज खनाल, खड्कबहादुर पुन, दिपिशा केसीलगायतका कलाकारको अभिनय छ । सवीर श्रेष्ठ र बाबुराम निरौलाको लेखन रहेको फिल्ममा शिव ढकालको छायाङ्कन, सुवास भुसाल÷योगेश काजीको सङ्गीत, रामजी लामिछानेको कोरियोग्राफी र भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?