पहिलो संस्करणको नेपाल टी–२० लिग शनिवारबाट शुरु हुने

लोकपथ
14
Shares

काठमाडौं । विभिन्न कारणले तीन पटक सरेको नेपाल टी–२० लिग चौंथो पटकमा भोलि (शनिवार)बाट शुरु हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) को महत्वाकांक्षी प्रोजेक्टको रुपमा रहेको फ्रेन्चाइज क्रिकेट चौंथो पटकमा भोलिबाट हुने भएको हो ।

नेपाल टी–२० लिग पौष ८ गते शुक्रवारबाट हुने भनिएपनि खेलाडीहरुको श्रमस्वीकृतिको विषयमा समस्या देखिएको भन्दै खेल एक दिन पर सरेको हो । चौथो पटक तय गरिएको लिग मिति पुस ९ गते शनिबारदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा शुरु गर्ने क्यानको तयारी छ ।

क्यानले लिगको कमर्सियल र स्ट्राटेजिक राइट्स भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई दिएको छ । क्यान र सेभेन थ्री स्पोर्ट्स मिलेर पहिलो संस्करणको नेपाल टी–२० लिग आयोजना हुन लागेको हो ।

तर, सेभेन थ्री स्पोर्ट्सलाई अधिकार दिएकैले लिगको घोषणा भएदेखि नै यो विवादमा पर्दै यसको आलोचना हुँदै आएको थियो । क्यानले ८ वर्षका लागि सेभेन थ्री स्पोर्ट्ससँग ३३ करोडको सम्झौता पनि गरिसकेको छ ।

यसअघि नेपालमा फ्रेन्चाइज लिग आयोजना गरिसकेको एभरेष्ट प्रिमियर लिगका आयोजक अमिर अख्तरले सेभेन थ्री स्पोर्ट्ससँगको सम्झौतालाई लिएर अदालतमा रिट दायर गरेपछि लिग झनै विवादमा फसेको थियो ।

आयोजक क्यान र कमर्सियल एण्ड स्ट्राटेजिक राइट पाएको सेभेन थ्री स्पोर्ट्सले शुक्रबार पत्रकार सम्मेलन गर्दै लिग आयोजनाका लागि सबै तयारी भइसकेको र अन्तिम चरणको तयारी शुक्रवार सकिने जानकारी दिएको छ ।

तर खेलाडी श्रम स्वीकृतिको काम पूरा हुन समय लाग्ने देखिएकोले चौथो पटक तोकिएको मितिमा पनि लिग हुन्छ कि हुँदैन भन्ने अझै शंका छ ।

तर क्यान अध्यक्ष चतुरबहादुर चन्द र सेभेन थ्री स्पोर्ट्सका जतिन आहलुवालियाले शनिवारदेखि नै लिग शुरु हुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?