च्याम्पियन्स लिग : डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिड र म्यान्चेस्टर सिटी प्रि-क्वाटरफाइनमा प्रवेश

एजेन्सी । डिफेन्डिङ च्याम्पियन स्पेनी क्लब रियल म्याड्रिड जारी ‘युइएफए’ च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको प्रि-क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

मंगलवार राति भएको खेलमा पहुना टोली रियल म्याड्रिडले इटालियन क्लब रोमालाई २-० गोल अन्तरले हराउँदै नकआउट चरणमा पुगेको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म दुवै क्लब गोल रहित बराबरीमा रोकिएका थिए ।

दोस्रो हाफको शुरुवाती समयमा नै रियल म्याड्रिडका लागि ग्रेथ बेलले पहिलो गोल गर्दै क्लबलाई अग्रता दिलाए । त्यस्तै ५९ औँ मिनेटमा लुकास भाजक्वेजले गोल गर्दै क्लबलाई दोब्बर अग्रता दिलाए ।

निर्धारित समयसम्म रोमाले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेलमा हार बेहो-र्यो ।

जितपछि समूह ‘जी’मा रहेको रियल म्याड्रिड ५ खेलबाट १२ अंक जोड्दै अघिल्लो चरणमा पुगेको हो । रियल म्याड्रिडविरुद्धको खेलमा पराजित रोमा पनि नकआउट चरणमा पुगेको छ । रोमाले ९ अंक बनाएको छ ।

यसै समूहको अर्को खेलमा भिक्टोरिया प्लेजेनले सीएसकेए मस्कोलाई २-१ गोलले पराजित गरेपछि रोमा दोस्रो स्थानमा रहँदै अघिल्लो चरणमा पुगेको हो । मस्को र प्लेजेनले समान ४-४ जोडेपछि  प्रतियोगिताबाट बाहिरिएको हो ।  

त्यस्तै मंगलवार राति नै भएको अर्को खेलमा इंग्लिश क्लब म्यानचेस्टर सिटी र लियोनले २-२ गोालको बराबरी खेलेको छ ।

बराबरी खेलेपनि सिटीले अघिल्लो चरणको यात्रा तय गरेको छ । खेलको पहिलो हाफसम्म दुवै क्लब गोल रहित बराबरीमा रोकिएका थिए । लियोनका लागि खेलको ५५ औँ र ८१ औँ मिनेटमा म्यासवेल कर्नेटले दुई गोल गरेका थिए ।

यता सिटीका लागि ६२ औँ मिनेटमा एम्रिक लापोर्टले तथा ८३ औँ मिनेटमा सर्जियो अग्युरोले समान एक-एक गोल गरे । बराबरीपछि म्यान्चेस्टर सिटी १० अंक बनाउँदै नकआउट चरणमा पुगेको हो ।

मंगलवार राति नै भएको अर्को खेलमा शाख्तर डोनेक्स्टले होफेनहाइमलाई ३-२ गोल अन्तरले हराएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?