राष्ट्रिय खेलकुद परिषद्ले पारा कमिटीको विवाद मिलाउने

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् ‘राखेप’ ले अस्तित्वमा रहेका दुई पारा ओलम्पिक कमिटीको विवाद मिलाउन दुई प्रतिनिधि तोकेको छ ।

नेपाल जुडो संघका महासचिव समेत रहेका नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो संघका वरिष्ठ उपाध्यक्ष धर्मकुमार श्रेष्ठ र नेपाल पारा साइक्लिङ संघका महासचिव रमेश लामालाई जिम्मेवारी दिइएको छ । लामालाई राखेपको प्रतिनिधिका रुपमा चयन गरिएको हो ।

नेपालमा हाल दीपक कोइराला अध्यक्ष रहेको राष्ट्रिय मान्यता प्राप्त नेपाल पारा ओलम्पिक कमिटी तथा राधा घले अध्यक्ष रहेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त राष्ट्रिय पारा ओलम्पिक कमिटी अस्तित्वमा छन् ।

‘नेपालमा दुई पारा ओलम्पिक कमिटी अस्तित्वमा रहेको विवादका कारण पारा खेलकुदको विकासमा व्यहोर्नु परेको कठिनाई बारे राखेपको ध्यानाकर्षण हुँदै आएको छ, तद्नुसार पारा ओलम्पिक कमिटीमा भएको विवादलाई समाधान गरी नेपालमा एक मात्र पारा ओलम्पिक कमिटी गठन गर्नका लागि दुई वटा अस्तित्वमा रहेका पारा ओलम्पिक कमिटीलाई समायोजन एवं एकिकरणको पहल गरी सोको प्रतिवेदन राखेपमा पेश गर्ने गरी तपाईलाई जिम्मेवारी तोकिएको व्यहोरा जानकारी गराइन्छ’, राखेपका सदस्यसचिव केशवकुमार विष्टले बताए । 

दुवै कमिटीलाई पत्रको बोधार्थ दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?