काठमाडौं । हिमालयन शेर्पा क्लब जारी शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बुधवार भएको चौथो चरणको अन्तिम खेलमा हिमालन शेर्पाले मच्छिन्द्र क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै लिगको तेस्रो स्थानमा उक्लिएको हो ।
शेर्पा क्लबका लागि खेलको २१ औँ मिनेटमा आशिष गुरुङले गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म मच्छिन्द्र क्लबले पनि खेलमा फर्कने प्रयास गरेपनि गोल गर्न भने सकेन ।
हिमालयन शेर्पाले दोस्रो हाफमा थप एक गोल थप्यो । ८९ औँ मिनेटमा शेर्पा क्लबका लागि कर्ण लिम्बुले गोल । त्यसपछि खेलमा थप गोल भएन र खेल हिमालयन शेर्पाले २-० गोलले जित्यो ।
जितपछि हिमालन शेर्पा क्लबले ४ खेलबाट १० अंक बनाएको छ । विभागिय क्लब आर्मीको पनि समान १० अंक नै छ । तर, गोल अन्तरको आधारमा अघि रहँदै आर्मी अंक तालिकाको दोस्रो स्थानमा छ ।
लिगको शीर्ष स्थानमा रहेको मनाङ मस्याङदी क्लबको भने १२ अंक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया