कठ्याङ्रिँदो पुषको ठण्डीमा केही दिन यता नेपाली राजनीति भने मज्जाले तात्यो । जसले सत्ता नेतृत्व गरिरहेको थियो ऊ सडकमा आयो र, जो प्रतिपक्षमा थियो ऊ सत्ताको किङमेकरका रुपमा देखापर्यो ।
कुनैबेला एकअर्काको नाम समेत सुन्न नचाहने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र एमाले अध्यक्ष केपी शर्मा ओली फेरि एकै ठाउँमा उभिएका छन् । त्यतिमात्र होइन, ओलीकै ग्राण्ड डिजाइनमा माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीसमेत बने ।
यो परिदृश्यले राजनीतिमा कोही पनि स्थायी शत्रु र स्थायी मित्र हुँदैन भन्ने प्रचलित भनाईलाई थप पुष्टि गरेको छ ।
गत मंसिरमा सम्पन्न आम निर्वाचनको परिणामबाट कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनले नै सरकार बनाउँछ भन्ने धेरैको आँकलन थियो । तर, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू नै प्रधानमन्त्री हुने अडान नछोडेपछि बिच्किएका प्रचण्ड अन्ततः एमालेसहितका सात राजनीतिक दल र तीन स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री बने ।
जसबाट ८९ सीटसहित संसदको ठूलो दल बनेको नेपाली कांग्रेस सरकारको नेतृत्वबाट मात्र बञ्चित भएन उसले महत्वपूर्ण राजकीय पदहरुसमेत गुमाउन पुग्यो । साथै, प्रदेश सरकारबाट समेत बढारिने अवस्थामा आइपुग्यो । नेपाली राजनीतिको विकृत पाटोका रुपमा तेस्रो दल निर्वाचनपछि सरकारको नेतृत्व गर्ने स्थानमा पुग्यो ।
जसकारण यतिबेला नेपाली कांग्रेस दुई ध्रुवमा विभाजित भएको छ । शेरबहादुर देउवाको चरम सत्तालिप्साका कारण कांग्रेस सडकमा पछारिनुपरेको भन्दै उनको आलोचना हुन थालेको छ ।
यसरी दुई धु्रवमा विभाजित भएको नेपाली कांग्रेसभित्रको राजनीतिक अब कसरी अघि बढ्ला ? चासोको साथ हेरिएको छ ।
मंसिर ४ को आम निर्वाचनबाट प्रत्यक्षमा ५७ र समानुपातिकमा ३२ गरि कुल ८९ सिट जित्दै नेपाली कांग्रेस संसदको पहिलो दल बन्यो । त्यसैले कांग्रेसकै नेतृत्वमा आगामी सरकार बन्ने धेरैको आँकलन थियो । तर, त्यसो हुन सकेन ।
कांग्रेस सभापति देउवाले माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री पद छाड्न नसक्दा आइतबार मध्यान्नपछि नेपाली सत्ता राजनीतिको कोर्स बदलियो । र, झण्डै डेढ वर्षयताको पाँच दलीय गठबन्धन टुट्यो भने एमालेसहितको सात दलीय गठबन्धन बन्न पुग्यो ।
जसकारण यतिबेला नेपाली कांग्रेसमा सन्नाटा छाएको छ । कतिपयले पार्टी सभापति शेरबहादुर देउवा र उनी निकटका नेताहरुको आलोचना गरिरहेका छन् ।
कांग्रेसले गठबन्धनकै सरकार बनाउने भन्ने बारे छलफल गरिरहँदा प्रचण्ड भने एमालेसँग मिलेर सरकार बनाउने खेलमा लागेको उनको आरोप छ ।
उता पार्टीका महामन्त्री गगनकुमार थापाले भने पोखराको एक कार्यक्रममा सभापतिले आफूहरुलाई यो समग्र प्रक्रियामै सहभागि नगराएको भन्दै आपत्ति जनाए ।
थापाकाे उक्त अभिव्यक्तिप्रति महतले भने उनी पछिल्ला दिनहरुमा बैठकमै आउन छाडेको प्रतिक्रिया दिए ।
मुखमा आएको सत्ता गुम्नुमा देउवानिकट मानिएकाहरुको गलत सल्लाह कारक रहेकामा आलोचना भइरहँदा डा. महत भने परिणाम नआउने बित्तिकै आलोचना र दोषारोपण गर्ने प्रवृत्ति रहेको भन्दै प्रतिरक्षा गर्दछन् ।
यता संस्थापन इतरका नेताहरु भने पार्टी नेतृत्वको अपरिपक्वता र अदूरदर्शिताको कारण सत्ता गुमाउनु परेको बताउँछन् ।
आफू निकटलाई मात्रै काखी च्यापेर अघि बढ्ने प्रवृत्तिका कारण पार्टीले क्षती व्यहोर्नुपरेको नेता अर्जुननरसिंह केसीको आरोप रहेको छ ।
पार्टीभित्र संस्थागत छलफल नभएकोे, जिम्मेवार पदाधिकारीहरुलाई वेवास्ता गरिएको र नेतृत्वले आत्मकेन्द्रीत भएर सोच्दा अहिलेको परिस्थिति सिर्जना भएको उनको भनाई छ ।
नेतृत्वको म नै राज्य हुँ, जे गर्छु मै गर्छु भन्ने प्रवृत्ति र नेताहरुको पदका लागि अस्थिर चरित्रले राजनीति यो बिन्दूमा आइपुगेको नेता केसीको निचोड छ ।
सबै घटनाक्रमको निर्मम समिक्षा गर्दै पार्टीलाई सशक्त, जीवन्त बनाउनुको विकल्प नरहेको उनको भनाइ छ ।
नेपाली कांग्रेसको अहिलेको अवस्था ‘किन रोइस् मंगले आफ्नै ढंगले’ भन्ने नेपाली उखानसँग चरितार्थ हुन पुगेको छ । तर, यस परिस्थितिलाई पनि पार्टी संगठन र जनताको पक्षमा खरो उतार्न सकेमा आगामी दिन फेरि कुमालेको चक्र झैँ नघुम्ला भन्न सकिन्न ।
भिडियो हेर्नुहोस् :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया