काठमाडौं । नवनियुक्त उपप्रधान एवम् अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सरकार निजी क्षेत्रका मागहरु प्रति गम्भीर रहेको बताएका छन् । सोमवार मन्त्री पौडेलले नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुसँगको भेटमा सो कुरा बताएका हुन् ।
मन्त्री पौडेलले आफू आज मध्याह्न अर्थ मन्त्रालयमा महासंघका पदाधिकारीहरुसँग भेटवार्ता गरेका थिए । भेटवार्ताका क्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले नवनियुक्त अर्थमन्त्रीलाई सिंगो निजी क्षेत्रकातर्फबाट बधाई एवम् शुभकामना दिए।
अध्यक्ष गोल्छाले अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा ब्रिफिङ गर्दै अर्थतन्त्रको विद्यमान समस्या समाधानका लागि महासंघकोतर्फबाट सुझाव पेश गरेका थिए।
अध्यक्ष गोल्छाले उद्योग व्यवसाय सञ्चालनमा सबैभन्दा बढी समस्याको रूपमा देखापरेको चालू पुँजी कर्जा मार्ग निर्देशन कम्तीमा दुुई वर्ष स्थगन गर्न तथा तरलता व्यवस्थापन र ब्याजदर स्थायित्वका लागि केन्द्रीय बैंकले सबै मौद्रिक उपकरणको प्रयोग गर्नुपर्ने सुझाव सो अवसरमा राखेका थिए।
मुलुकको अर्थतन्त्र अति संवेदनशील अवस्थामा रहेकाले नवगठित सरकारको सिंगो ध्यान अर्थतन्त्रको पुनरुत्थानमा जानुपर्नेमा पनि अध्यक्ष गोल्छाले जोड दिए।
अर्थतन्त्रमा बहुआयामिक असर परेको, मौद्रिक नीतिको समीक्षा मार्फत पनि समस्या सम्बोधन हुन नसकेको र विशेष गरी समग्र बैंकिङ समस्याको कारण उद्योगी व्यवसायी अत्यन्त कठिन अवस्थामा पुगेकाले बाध्य भएर सडकमा आउने परिस्थिति बनेकाले त्यसको अन्त्य गर्न आग्रह गरे।
महासंघका अध्यक्ष गोल्छाले अर्थ मन्त्रीज्यूबाट अर्थतन्त्रको संवेदनशीलता बुझेर सोही अनुसार अर्थपूर्ण पहल हुने अपेक्षा निजी क्षेत्रले गरेको बताए। राजस्वले साधारण खर्च समेत धान्न नसक्ने अवस्था आएको, मूल्यवृद्धि सात वर्षयताकै उच्च रहेको र अर्थतन्त्रलाई चलायमान बनाउने निजी क्षेत्रनै अहिले संकुचित हुँदै गएको यथार्थता सो अवसरमा राखिएको थियो ।
यस्तै, अर्थमन्त्री पौडेलले आफ्नो कामको पहिलो सुरुवात नै महासंघको प्रतिनिधिमण्डलसँगको भेटबाट भएको बताउँदै निजी क्षेत्रका मागप्रति सरकार कति गम्भीर छ भन्ने कुरालाई निजी क्षेत्रको छाता संगठनसंगको भेटलाई दिएको प्राथमिकताले पनि स्पष्ट पार्ने उनले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया