सूर्य नेपाल इस्टर्न ओपन गल्फ टुर शुरू, स्थानीय गल्फर निरजलाई अग्रता

लोकपथ
49
Shares

काठमाडौं । सुर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको पहिलो दिन घरेलु गल्फर निरज तामाङले एक स्ट्रोकको अग्रता बनाएका छन् । पार–७० को धरान गल्फ क्लबको कोर्समा उनले ५–अन्डर ६५ को कार्ड तयार पारे । नेपाल नम्बर एक शुक्र बहादुर राई र सञ्जय लामा ४–अन्डर ६६ को स्कोरकासाथ संयुक्त रुपमा दोस्रो स्थानमा रहेका छन् । ३–अन्डर ६७ मा पहिलो १८ होलको खेल सकाएका भुवन नगरकोटी चौथों स्थानमा रहदा इभन–पार ७० सहित जयराम श्रेष्ठ पाँचौ स्थानमा रहेका छन् ।

एमेच्योर गल्फर राजकुमार राई १–ओभर ७१ सहित छैटौँ स्थानमा छन् । यसैगरी २–ओभर ७२ को स्कोरमा सात व्यवसायिक खेलाडीहरु रबि खड्का, रमेश अधिकारी, रामे मगर, टंक बहादुर कार्की, सूर्य प्रसाद शर्मा, दिनेश प्रजापति र बलभद्र राईले सातौ स्थान बाडेका छन् । लिडर निरजले सानदार सुरुवात गर्दै फ्रन्ट नाइन ६–अन्डर ३० मा सकाउने क्रममा दोस्रो, तेस्रो, पाँचौ, छैटौँ र सातौ होलमा बर्डीको सफलता प्राप्त गरे ।

यसपछि आठौँ होलमा बोगि खेपेका उनले चार पारको नवौं होलमा इगल प्रहार गरे । ब्याक नाइनको सुरूवाती तीन होलमा बर्डी प्रहार गर्दै उत्कृष्ट स्कोरतर्फ अग्रसर भएपनि १३ औँ, १४औँ, १७औँ र १८औँ होलमा बोगीको सामना गरे । ब्याक नाइन उनले १–ओभर ३५ मा पुरा गरे ।
नेपाल नम्बर एक शुक्रले १–अन्डर ३५ मा फ्रन्ट नाइनको खेल सकाउदा ब्याक नाइनमा ३–अन्डर ३१ को उत्कृष्ट प्रदर्शन गरे । सुरूवाती दुई होलमा बोगी खेपेका उनले पाँचौ, छैटौँ र नवौं होलमा बर्डी प्रहार गरे । यसपछि १० औँ, १३ औँ, १५ औँ र १८ औँ होलमा एक–एक सट बचाए भने १४ औँ होलमा बोगी खेपे ।

यसैगरी सञ्जय लामाले फ्रन्ट नाइट ३–अन्डर ३३ मा पुरा गर्ने क्रममा दोस्रो, पाँचौ र छैटौ होलमा बर्डी प्रहार गरे । यसपछि १० औँ, १६औँ र १८ औँ होलमा एक–एक सट बचाए । तर १३ औँ र १४ औँ होलमा लगातार दुई बोगी प्रहार गर्दै ब्याक नाइन १–अन्डर ३३ मा सकाए ।

प्रतियोगिताको एमेच्योरतर्फ राजकुमार राईले दुई स्ट्रोकको अग्रता बनाएका छन् । दोस्रो स्थानमा रहेका रूपेन्द्र गुरूङ र युवराज भुजेलले ३–ओभर ७३ को कार्ड बनाए । उनीहरू प्रोफेसनल गल्फर धन बहादुर थापासँग संयुक्तरुपमा १४ औँ स्थानमा रहेका छन् । प्रो दल बहादुर लामा, थाम बहादुर राई, दीपक आचार्य र भुवन कुमार रोक्कासँगै एमेच्योेर खेलाडीहरू शुक्र राज राई र सुन्दर राई संयुक्तरुपमा १७ औँ स्थानमा रहेका छन् ।

नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनको आयोजना र सूर्य नेपाल प्राईभेट लिमिटेडको प्रायोजनमा जारी ५४ होलको प्रतियोगितामा २९ प्रोफेसनल र ११ एमेच्योर खेलाडीले सहभागिता जनाएका छन् । दोस्रो दिनको समाप्तिमा उत्कृष्ट २१ व्यवसायीक र कम्तीमा ६ एमेच्योर खेलाडीले अन्तिम १८ होलको खेलका लागि कट बनाउने छन् ।

कुल आठ लाख पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले एक लाख ४० हजार प्राप्त गर्नेछन् । उपविजेताले ९० हजार तथा तेश्रो हुनेले ६७ हजार प्राप्त गर्नेछन् । उत्कृष्ट २१ भित्र पर्न सफल प्रोफेसनल खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?