घरजग्गा कारोबार सुस्त : बैंकहरुले दिए २ खर्ब बढी कर्जा

लोकपथ
21
Shares

काठमाडौं । वित्तीय प्रणालीमा देखिएको तरलता अभाव देखिएसँगै घरजग्गाको कारोबार सुस्त भएको छ ।

बैंकिङ क्षेमा लगानीयोग्य रकमको अभाव देखिएसँगै बैंकहरुले घरजग्गा क्षेत्रमा प्रवाह हुने कर्जालाई निकै नै कम गरेका छन् । कतिपय बैंकहरुले घरजग्गा क्षेत्रमा नयाँ कर्जा नै दिएका छैनन् ।

यसको बावजुत पनि बैंक तथा फाईनान्स कम्पनीहरुले भने घरजग्गा अर्थात रियलस्टेट क्षेत्रमा दुई खर्ब रुपैंयाँ भन्दा बढी कर्जा प्रवाह गरेको देखिएको छ ।

बैंक तथा फाईनान्स कम्पनीहरुको निक्षेप तथा कर्जा सम्वन्धी नेपाल राष्ट्र बैंकको पछिल्लो चार महिनाको विस्तृत प्रतिवेदन अनुसार सञ्चालनमा रहेका २६ बाँणिज्य बैंक, १७ वटा बिकास बैंक र १७ वटा फाईनान्स कम्पनी सहितका ६० वटा संस्थाहरुले रियलस्टेट क्षेत्रमा मात्र दुई खर्ब २१ अर्ब ९४ करोड १० लाख रुपैंयाँ कर्जा प्रवाह गरेको देखिएको हो ।

राष्ट्र बैंकका अनुसार बाँणिज्य बैंकहरुले मात्र रियलस्टेट क्षेत्रमा चालु आवको पछिल्लो चार महिना अर्थात कात्र्तिक मसान्तसम्ममा एक खर्ब ९१ अर्ब ६५ करोड २० लाख रुपैंयाँ कर्जा प्रवाह गरेका छन् । यस अवधिमा बिकास बैंक र फाईनान्स कम्पनीहरुले भने रियलस्टेट क्षेत्रमा क्रमशः २० अर्ब २३ करोड ८० लाख र १० अर्ब पाँच करोड १० लाख रुपैंयाँ कर्जा प्रवाह गरेका छन् ।

राष्ट्र बैंकका अनुसार घरजग्गा बाहेक व्यक्तिगत आवास अर्थात होम लोन शिर्षकमा पनि बैंक तथा फाईनान्स कम्पनीहरुले छुट्टै तीन खर्ब ४५ अर्ब ७८ करोड ८० लाख रुपैंयाँ कर्जा प्रवाह गरेका छन् ।

एक करोड ५० लाख रुपैंयाँसम्मको कर्जालाई राष्ट्र बैंकले रियलस्टेट क्षेत्रबाट छुट्याएर होम लोन शिर्षकमा राखेको र यो शिर्षकमा बाँणिज्य बैंकहरुले मात्र दुई खर्ब ८२ अर्ब ६५ करोड १० लाख रुपैंयाँ कर्जा प्रवाह गरेका छन् । बिकास बैंक र फाईनान्स कम्पनीहरुले भने होम लोन शिर्षकमा क्रमशः ५२ अर्ब २३ करोड ५० लाख र १० अर्ब ९० करोड २० लाख रुपैंयाँ कर्जा प्रवाह गरेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?