अर्थमन्त्री पौडेलको प्रतिबद्धतापछि व्यवसायीले गरे आन्दोलन स्थगित

लोकपथ
28
Shares

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले व्यवसायीको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएपछि उद्योगीहरुले कायम राखेको आन्दोलन स्थगित गरेका छन् । बुधबार अर्थमन्त्रालयमा अर्थमन्त्री पौडेल र उद्योग वाणिज्य महासंघका पदाधिकारीबीच भएको छलफलमा चालु पुँजी कर्जा मार्गदर्शन २०७९ स्थगन, ब्याजदर वृद्धि, सीडी रेसियो घटाउनुपर्ने मागमा अर्थमन्त्री सकारात्मक बनेका हुन् ।

उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थमन्त्रीको आश्वासनले व्यवसायीलाई आश्वस्त बनाएको बताए । ‘बुधबार भएको छलफलमा हामीले सबै समस्याबारे जानकारी दियौं’ उनले भने ‘चालु महिनाभित्रै समस्या समाधान गर्ने प्रतिवद्धतापछि उद्योगी व्यवसायीको आन्दोलन पनि स्थगित गर्ने भनेका छौं ।’

पछिल्लो समय बैंकको व्याजदर, राष्ट्रि बैंकको अव्यवहारीक नीति विरुद्ध उद्योग वाणिज्य महासंघ अन्तर्गतका जिल्ला संघ तथा वस्तुगत संघहरूले लामो समयदेखि सडक आन्दोलन गरिरहेका थिए । नयाँ सरकारमा अर्थमन्त्री बिष्णु पौडेल नियुक्त भएपछि व्यवसायीले वार्ताको माध्यमबाट समाधान खोजेका हुन् ।

अर्थमन्त्रालयमा भएको छलफलमा अर्थतन्त्र तथा व्यवसायीका समस्याबारे गभर्नर महाप्रसाद अधिकारीलाई समेत जानकारी गराइएको थियो । उद्योगीको समस्या समाधान नगरी सरकार चलाउन समेत समस्या पर्ने भन्दै अध्यक्ष गोल्छाले, ‘हामीले उठाएको बिषयमा अर्थमन्त्री तथा गभर्नरले सकारात्मक प्रतिक्रिया दिनुभएको छ, पुसमहिनाभित्र सबै समस्या समाधान गर्ने प्रतिबद्धता छ ।’

पौडेलले अर्थमन्त्री भएलगतै उद्योगी व्यवसायीहरुसँग छलफल थालेका थिए । नेपाल राष्ट्र बैंकले ल्याएको चालु पुँजी कर्जा मार्गदर्शन २०७९ प्रति उद्योगी व्यवसायी विरोधमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?