कम्बोडियाको क्यासिनो आगलागीमा १९ जनाको मृत्यु, झ्यालबाट हाम्फाल्दा एक नेपालीको पनि निधन

लोकपथ
14
Shares

काठमाडौं । कम्बोडियाको एउटा क्यासिनोमा आगलागी हुँदा कम्तिमा १९ जनाको मृत्यु भएको छ । दर्जनौ बेपत्ता भएको खबर अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । थाइल्याण्डको सिमानामा रहेको पोइपेट शहरस्थित ग्राण्ड डायमण्ड सिटी होटल र क्यासिनोमा भएको आगलागीमा पर्दा अरु ७० जना घाइते भएको जनाइएको छ ।

भवनमा फसेका पीडितहरूको खोजी भइरहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको सिएनएनलाई जनाएको छ । उक्त आगलागीमा परेर झापाको बिर्तामोड घर भएका ४० वर्षीय निराकार पाण्डेको पनि मृत्यु भएको छ । आगो लाग्दै गएपछि पाण्डेले क्यासिनोको १२ औं तलाको कोठाबाट हाम्फालेका थिए ।

उक्त समयमा उनले झापामा रहेका परिवारसँग भाइबरमा लाइभ भिडिओ कुराकानी गरेको परिवारका सदस्यले जनाएका छन् । उक्त क्रममा उनले आगलागीबाट बच्ने अवस्था नभएको र आफू हामफल्नुको उपाय नभएको परिवारलाई बताएका थिए । १८ तला रहेको उक्त क्यासिनोको माथिल्लो तलामा जान र नहामफाल्न परिवार र साथिहरुले आग्रह गरे पनि उनले उक्त कार्य गर्न नसकेको झापाबाट उनका परिवारजनहरुले सञ्चारमाध्यमहरुलाई जानकारी गराएका छन् ।

परिवारसँग कुरा गरिसकेपछि पाण्डेले झ्यालबाट हामफालेको र उनको मृत्युको पुष्टि कम्बोडियामै रहेका उनका साथी सुरेन्द्र श्रेष्ठले गरेको परिवारजनले बताएका छन् । क्यासिनोमा लागेको आगो निभाउन १२ घण्टाभन्दा बढी समय लागेको थियो । आगो निभाउन थाइल्याण्डदेखिका वारूणयन्त्र पनि पोइपेट पुगेका जनाइएको छ ।

सामाजिक सञ्जालमा आएका तस्वीरहरुमा मानिसहरु छानाबाट हामफालिरहेको, सहयोगका लागि चिच्याइरहेको देखिन्थ्यो । करिब सात सयलाई उद्धार गरी थाइल्याण्डका अस्पतालमा पठाइएको खबर छ । बन्तेय मेन्चे प्रान्तीय प्रहरी प्रमुख मेजर जनरल सिथी लोहका अनुसार अझै पनि आगलागीको कारण खुल्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?