काठमाडौं । कविशिरोमणि लेखनाथ पौड्यालको स्मृतिमा स्थापित ‘लेखनाथ प्रतिभा पुरस्कार’ चक्रबहादुर रावललाई प्रदान गरिएको छ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय नेपाली विभागबाट विसं २०७६ को स्नातकोत्तर परीक्षामा सर्वोत्कृष्ट रावललाई रु २० हजार एक राशिको सो पुरस्कार आज प्रदान गरिएको हो ।
नेपाली शिक्षा परिषद्ले कविशिरोमणि पौड्यालको १३९ औँ जन्मजयन्तीका अवसरमा आज आयोजना गरेको कार्यक्रममा वरिष्ठ कवि मुकुन्द शर्मा चालिसेले रावललाई सो पुरस्कार प्रदान गरेका हुन् ।
कार्यक्रममा वरिष्ठ कवि चालिसेले नेपाली साहित्य क्षेत्रको विकासमा कवि शिरोमणि पौड्यालको महत्त्वपूर्ण भूमिका रहेको बताए । उनले काव्य साहित्यको छहारी लेखनाथ साहित्य सदन भएकाले यसलाई अगाडि बढाउन साहित्यकारको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।
नेपाली शिक्षा परिषद्का अध्यक्ष रमा शर्माले कवि शिरोमणि पौड्याललाई चिनाउनका लागि नेपाली शिक्षा परिषद्ले पुरस्कार स्थापना गरी प्रदान गर्दै आइरहेको जानकारी दिए । उनले यो वर्षदेखि रु १५ हजार एक नगद राशिको पुरस्कारलाई बढाएर रु २० हजार एक बनाइएको बताए ।
सोही अवसरमा मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपाने, कवि जगदीश पोखरेल, कवि भुवनहरि सिग्देल, कवि प्रभा भट्टराईलगायतले कविता वाचन गरेका थिए ।
कवि शिरोमणि पौड्यालकोे जन्म विसं १९४१ पुस १५ गते कास्कीको अर्घौँ अर्चलेमा भएको थियो । विसं २००८ असार २९ गते पौड्याललाई राजा त्रिभुवनद्वारा कविशिरोमणिको पदवी र मासिक रु दुई सय आजीवन भत्ता प्रदान गरिएको थियो ।
विसं २०११ मा पौड्यालकै शुभजन्मोत्सवका उपलक्ष्यमा काठमाडौंमा रथयात्रा गरिएको थियो । उनका दुई दर्जनजति कृति प्रकाशित छन् । पौड्याललाई मरणोपरान्त विसं २०२६ मा त्रिभुवन प्रज्ञा पुरस्कार प्रदान गरिएको थियो । विसं २०२२ को शिवरात्रि अर्थात् फागुन ७ गते पौड्यालको निधन भएको थियो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया