सन् २०२२ हामी सबैसँग बिदा भएको छ । विश्व जगतमा यो वर्ष आशा जगाउन सफल नभएको वर्षका रुपमा रह्यो । यद्यपि, अघिल्ला वर्षहरुमा कोरोनाको कहरबाट जेलिएका मानिसले केहीराहत भने पाए ।
यसवर्ष विश्व इतिहासमा दूरगामी छाप छाड्ने घटनाहरु पनि भएका छन् । जसको असर नयाँ वर्ष २०२३ मा त पर्ने नै छ, त्योभन्दा अधिक समय पनि यसले पछ्याइरहने छ ।
त्यसैमध्येको एक घटना बनेको छ । वर्षको शुरुवातमै रुसले युक्रेनमाथि गरेको अतिक्रमण र यूक्रेनी प्रतिरोध युद्ध । जसले विश्वको अर्थतन्त्रलाई नै असर गरिरहेको छ भने अझै कति समय यो युद्धको भूमरी जारी रहने हो यकिन छैन ।
हेरौं वर्ष २०२२ का अमीट छाप छाडेका केही घटनाः
रुस–युक्रेन युद्ध
वर्षका शुरुवातमै अर्थात् फेब्रुअरी २४ का दिन रुसले युक्रेनमाथि आक्रमण ग-यो । एक साताभित्रै यूक्रेनलाई घुँडा टेकाउने रुसी योजना मुताबिक थालिएको यो युद्ध वर्षभर लम्बिएको मात्र होइन अझै कतिसमय जाने भन्ने टुग्गो छैन ।
युक्रेनले युरोपियन युनियन र नेटोको सदस्यता लिन खोजेपछि रुस भड्किएपछि युद्धको स्थिती आएको हो । अमेरिका र इयूसँग बढ्दो सम्बन्धप्रति रुष्ट मस्कोले, युक्रेनले नेटो सेना सीमा क्षेत्रमा तैनाथ गराएको,रुसविरोधी गतिविधि गरेको, युरोपेली युनियनको सदस्य बन्न खोजेको जस्ता कारण देखाएर आक्रमण थालेको थियो । यूक्रेनी दाबीलाई मान्ने हो भने, उसतर्फ युद्धमा १३ हजार सैनिक मारिँदा रुसका एक लाख सैनिक मारिएका छन् । युद्धको मूल्य स्वरुप रुसले युक्रेनका खेर्सन, जापोरिजिया, लुहान्स्क र दोनेत्स्क जस्ता भूभाग हड्पेको छ ।
रुसले निहत्था नागरिकमाथि पनि युद्ध थोपरेको भन्दै यूक्रेनले युद्ध अपराधको आरोप लगाउँदै निष्पक्ष छानबिन गर्न माग गरेको छ । रुससँग अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघ–संस्थाहरुले पनि त्यस विषयमा अनुसन्धानका लागि सघाउन आग्रह गरिरहेका छन् ।
युद्ध लम्बिँदै जाँदा रुसमा आन्तरिक असन्तोष पनि चुलिएको छ भने राष्ट्रपति पुटिनमाथि युद्ध अन्त्यका लागि दबाब बढ्दो छ । तर, यही बेला अमेरिका पुगेका युक्रेनी राष्ट्रपति भेलोडोमीर जेलेन्स्कीले रुससामु आत्मसमर्पण नगर्ने अडान राखेकाले संवादबाट समाधान निस्कनेमा आशंका बढेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको वार्ता र अमेरिकी दुबै सदनका सांसदलाई सम्बोधन, युक्रेनलाई अर्बौँ डलर बराबरको सैन्य तथा मानवीय सहायता दिने अमेरिकी बचनले हेर्दा रुस–यूक्रेन युद्ध देखिए पनि खासका अमेरिका–रुसबीचको टकराव यस युद्धमा देखिन्छ ।
विश्वव्यापी आर्थिक र मानवीय संकट
रुस–युक्रेन युद्धको प्रभाव ती दुई देश वा यूरोपेली महादेशमा मात्र सीमित छैन । कोरोना महामारीबाट उम्किन नपाउँदै विश्व अर्थतन्त्रलाई यूक्रेन युद्धको बाछिटाले लपेट्यो । विश्वलाई नै विभिन्न खाद्यान्न निर्यात गर्ने रुस र युक्रेन युद्धमा अल्झँदा खाद्यान्न निर्यात रोकियो र विश्वभर नै महँगी चुलियो । अर्काति र इन्धन र आर्थिक संकट निम्तिएको छ ।
सन् २०२१ मा ४.७ प्रतिशत रहेको विश्व मुद्रास्फीति सन् २०२२ मा . प्रतिशत पुग्ने प्रक्षेपण छ । युद्धका कारण विश्व अर्थतन्त्र ३५ प्रतिशतले खुम्चिने विश्व बैंकको चेतावनी छ । साथै युद्धले मानवीय संकट उस्तै निम्त्याएको छ । विश्वभर शरणार्थी समस्या बढाउँदा अहिले ३ करोड २० लाख मानिस शरणार्थीका रूपमा बाँच्न विवश छन् । सन् २०२२ मा मात्र विश्वका एक करोड मानिसले आफ्नो थातवास छाड्न बाँध्य भएको राष्ट्रसंघले जनाएको छ ।
इरानमा हिजाब आन्दोलन
हिजाब राम्रोसँग नलगाएको आरोपमा एक इरानी युवतीको हत्याको विरोधमा सल्किएको आगो मुलुकभर सल्केला भन्ने इरानी शासकहरुले अनुमान नै गर्न सकेनन् । कुर्दिस क्षेत्रको साकेज गाउँकी २२ वर्षीया महसा अमिनी प्रहरी हिरासतमै मारिएपछि महिला नेतृत्वमा सरकारविरोधी आन्दोलन छेडियो । प्रहरीले हिरासतमा लिएको तीन दिनपछि अमिनीको मृत्यु भएपछि महिलाहरूले आफ्नो स्वतन्त्रता र पहिरनमाथिको अकुंश अस्वीकार्य भन्दै चर्काएका आन्दोलनले विश्वकै ध्यान तान्यो । यस आन्दोलनको समर्थनमा विश्वका धेरै देशमा प्रदर्शन गरिए ।
विदेशीको आडमा आन्दोलन भएको दाबी गर्ने इरानी सत्ताको दमनमा ६३ बालबालिका, २९ महिलासहित ४५८ जना मारिइसकेको नर्वेस्थित मानवअधिकारवादी संस्था इरान ह्युमन राइट्सले जनाएको छ । सबैभन्दा बढी सिस्तान, बलुचिस्तान, कुर्दिस्तान, पश्चिमी अजरबैजान, तेहरान, माजान्दारन र केरमान्शाह प्रान्तमा आन्दोलनकारी मारिएका छन् । बीसौं हजार प्रदर्शनकारी पक्राउ परेको तथ्यांक छ । उनीहरुमाथि जेल सजायँ र मृत्युदण्ड तोकिएका छन् ।
श्रीलंकाको आर्थिक संकट र राजापाक्षे बन्धुको पलायन
दक्षिण एशियाली मुलुक श्रीलंकामा चर्किँदो आर्थिक संकटले आममानिसलाई सडकमा उतारेका मात्र होइन, तत्कालीन सत्ताविरुद्ध हिंसात्मक आन्दोलन नै भयो । प्रधानमन्त्री महिन्द्रा राजापक्षले पद त्याग्नु प-यो भने उनका दाजु गोटाबाय राजापाक्षेले त पद मात्रै नभई देशै छोडेर भाग्नुप-यो । इन्धन तथा खाद्यान्नसमेत नपाएपछि नागरिक सडकमा उत्रिएका थिए । चुलिँदो आर्थिक संकट समाधान गर्न नसक्दा तात्कालीन सरकार नै निशानामा परेको हो । प्रदर्शनकारीले प्रधानमन्त्री र राष्ट्रपति भवनमा पसेर विध्वंस मच्चाएका थिए ।
विदेशी मुद्राको सञ्चिती नहुँदा श्रीलंकाको स्वदेशी मुद्राको मूल्यमा मात्र गिरावट आएन, वस्तु खरिदमै समस्या उत्पन्न भएको थियो । अत्याधिक भ्रष्टाचार र कोभिडका कारण अमेरिकी डलर अभाव हुँदा खाद्यान्न, औषधि, इन्धन खरिद गर्नै नसक्ने अवस्था भयो । राजापाक्षे बन्धुको पलायन र रनिल विक्रमासिंघे नयाँ प्रधानमन्त्रीमा नियुक्त भएपछि भने आन्दोलन मथर भएको थियो ।
बेलायती महारानीको निधन-बेलायतमा एशियाली मूलको पहिलो प्रधानमन्त्री सुनक
बेलायती महारानी एलिजाबेथ द्वितियाको निधन अर्को घटना रह्यो यस वर्ष । जसले धेरैलाई स्तब्ध बनायो । ९६ वर्षीया महारानीको सेप्टेम्बर ८ मा बालमोरिल राजदरबारमा निधन भयो । बेलायतको इतिहासमा सबैभन्दा बढी समय शासन गर्ने कीर्तिमान बनाएकी महारानी एलिजाबेथले ७० वर्ष २१४ दिन शासन गरेकी थिइन् । सन् १९५२ फेब्रुअरी ६ देखि २०२२ सेप्टेम्बर ८ सम्म बेलायतको महारानी रहेकी उनको निधनपछि छोरा अधिराजकुमार चार्ल्स तृतीय बेलायतका राजगद्दीमा पुगेका छन् ।
यसका साथै बेलायतमै पहिलो पटक यस वर्ष भारतीय मूलका ऋषि सुनक बेलायती प्रधानमन्त्री बन्न पुगे । उनले सबैभन्दा कम समय बेलायती प्रधानमन्त्री रहेकी नेतृ लिज ट्रसको स्थान एिका थिए । ४७ वर्षीया ट्रस प्रधानमन्त्रीको शपथ लिएको सात सातापछि पदबाट राजीनामा दिन बाध्य भएकी थिइन् ।
पाकिस्तानको बाढी र आर्थिक संकट
पाकिस्तानको पन्जाब, बलोचिस्तान, खिबेर, पाक्तुनखाबामा जुनदेखि अक्टोबरसम्म आएको आकस्मिक बाढीले ठूलो जनधनको क्षति मात्र गरेन सरकारले सरकारले स्वास्थ्य संकटको घोषणा नै गर्न प¥यो । यो बाढीलाई जलवायु परिवर्तनको असरका रुपमा लिइएको छ । जसमा परेर लाखौँ मानिस विस्थापित भए । १७ सयभन्दा बढीले त ज्यान नै गुमाए । विश्व बैंकले बाढीका कारण ३० अर्ब डलर बराबरको भौतिक क्षति भएको जनाएको छ । हजारौँ घरमा क्षतिग्रस्त हुँदा जनस्वास्थ्य सुविधा, खानेपानी प्रणाली र विद्यालय ध्वस्त बनेको छ । ती संरचना पुनर्निर्माणका लागि मात्रै १६ अर्ब डलर खर्च लाग्ने विश्व बैंकको अनुमान छ । बाढीका कारण करिब १ करोड ५० लाख मानिस प्रभावित भएको राष्ट्रसंघको तथ्यांक छ ।
जलवायुसम्बन्धी प्रतिबद्धता र कोप २७
यसवर्ष इजिप्टको शार्म एल–शेखमा नोभेम्बर ६ देखि २० तारिखसम्म जलवायु सम्मेलन कोप २७ गरियो । यसक्रममा जलवायु परिवर्तनका असर कम गर्ने योजनामा धनी मुलुकले हानि नोक्सानी बेहोर्ने विषयमा कोष स्थापना गर्ने सहमति बनेको छ । कोषमार्फत जलवायु संकटमा परेका र जोखिमयुक्त मुलुकलाई आर्थिक सहायता गराइनेछ ।
कार्बन उत्सर्जनमा सबैभन्दा बढी जिम्मेवार मुलुकले कम जिम्मेवार र गरीब मुलुकलाई आर्थिक सहायता उपलब्ध गराउने प्रतिबद्धता पनि गरेका छन् । जलवायु परिवर्तनका असर कम गर्न र यस शताब्दीसम्म विश्वको तापक्रम १.५ सम्म सीमित गर्नुपर्नेमा जोड दिइएको छ ।
पेलोसीको ताइवान भ्रमण र अमेरिका–चीन तनाव
ताइवानमा अमेरिकी सभामुख न्यान्सी पेलोसीले भ्रमण गरेपछि अमेरिका, चीन र ताइवानको त्रिपक्षीय टकराव देखाप¥यो । पेलोसीको भ्रमणबाट रुष्ट चीनले ताइवान सीमामा बृहत् हवाई सैन्य अभ्यास नै गरेको थियो । यसकै प्रतिक्रियास्वरुप चीनले ताइवानलाई आफ्नो मुलुकमा गाभेरै छाड्ने प्रतिबद्धता मात्र जनाएन राष्ट्रपति सी चिनफिङले ताइवान मामिलाबाट परै बस्न अमेरिकालाई चेतावनीसमेत दिए ।
अफगानिस्तानमा महिला तथा किशोरीलाई शिक्षामा प्रतिबन्ध
अमेरिकालाई घर पठाएर फेरि अफगानिस्तानको सत्तामा फर्केको तालिबानले महिलाको शिक्षा, मनोरञ्जन र विभिन्न क्षेत्रमा प्रतिबन्ध लगायो । महिलालाई माध्यमिक शिक्षाबाट वञ्चित गर्ने, जिमखाना तथा पार्कमा जान नदिने उर्दी जारी गरेको उसले गैरसरकारी संस्थामा काम गर्नसमेत प्रतिबन्ध लगाएको छ । सरकारविरोधी गतिविधि गर्ने, व्यभिचारी, चोरी डकैती गर्ने र बलात्कारीलाई कोर्रा हान्ने तथा सार्वजनिक स्थलमा झुन्डाएर मृत्युदण्डसमेत दिएको छ । तालिबानी कदमप्रति आपत्ति जनाउँदै राष्ट्रसंघले शिक्षामा पुरुष महिला दुबैको उत्तिकै अधिकार रहेको प्रष्ट गरेको छ ।
अमेरिका र क्यानडामा चिसो र हिम आँधीको वितण्डा
वर्षको अन्तिम सातातिर अमेरिका र क्यानडामा हिम आँधी र अत्यधिक चिसोले जनजीवन प्रभावित भयो । हिमपात, आँधी र चिसोका कारण धेरैले ज्यान गुमाउँदा केही दिनसम्म उडान रद्द भए भने बिजुली नहुँदा जनजीवन कष्टकर बन्यो । अमेरिकामा मात्रै ६२ जनाले ज्यान गुमाए । अमेरिकाको मोन्टानामा त तापक्रम माइनस ५० डिग्री सेल्सियससम्म झर्यो । न्यूयोर्क, ओहायो, कोलोराडो, फ्लोरिडा, विन्सकन्सिन, भर्मोन्ट लगायतका क्षेत्र बढी प्रभावित भए ।
विश्वकप र अर्जेन्टिनाको विजय
सन् २०२२ को कतार विश्वकप आफ्नो पोल्टामा पार्दै अर्जेन्टिना तेस्रो पटक विश्व विजेता बन्यो । योसँगै कप्तान मेसीको विश्वकप ट्रफी उचाल्ने वर्षौदेखिको धोको पूरा भयो । अरब मुलुकमा आयोजित यो पहिलो विश्वकप हो र यसलाई इतिहासकै महँगो पनि मानिएको छ । रङ्गशाला, रेल, होटल, सडकसहितका परियोजना र संरचना निर्माणमा कतारले २ खर्ब २० अर्ब डलर खर्चँदा श्रमिकको मानवअधिकार हनन गरिएकामा विश्वभरबाट आवाज उठे ।
विश्वको जनसंख्या ८ अर्ब
यसै वर्ष विश्वको जनसंख्या ८ अर्ब पुग्यो । पछिल्लो २४ वर्षमा विश्वको जनसंख्या २ अर्ब बढेको तथ्यांक छ । यसैगरी, पृथ्वीको जनसंख्या सन् २०३० सम्ममा साढे ८ अर्ब पुग्ने प्रक्षेपण राष्ट्रसंघको छ । सन् २०५० सम्ममा वृद्धि हुने आधा जनसंख्या केबल आठ देश पाकिस्तान, भारत, ग्रिस, कंगो, नाइजेरिया, तान्जानिया र इथियोपिया हुने राष्ट्रसंघको भनाइ छ । अरु धेरै देशमा भने जनसंख्या वृद्धिदर निकै न्यून हुने छ ।
चीनमा सीको तेस्रो कार्यकाल र कोभिड नीतिविरुद्ध आन्दोलन
चिनियाँ राष्ट्रपति सी जिनपिङले तेस्रो कार्यकालका लागि पनि राष्ट्रिपति बने । आफू नियन्त्रित पार्टी सदस्यहरुबाट अनुमोेदित उनी चिनियाँ संस्थापक नेता माओ त्सेतुङपछिकै सबैभन्दा शक्तिशाली नेता बन्न पुगेका छन् । पार्टी, सेना र व्यापारी वर्गको समर्थन पाएका उनैले, चिनियाँ शून्य कोभिड नीतिविरुद्धमा भने चीनमा बिरलै हुने आन्दोलन देख्नु प¥यो । आन्दोलन उग्र बन्ने देखेपछि सरकारले कोरोनासम्बन्धी नीतिमा फेरबदल गर्दै शून्य कोभिड नीतिलाई खुकुलो बनाएको छ ।
महान् फुटबलर पेलेको निधन
वर्षे अन्त्यमा फुटबलका विश्वविख्यात खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भयो । ब्राजिलको साओ पाउलोस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको हो । उनी मिर्गौला र क्यान्सरबाट पीडित थिए । उनले तीन विश्वकप जितेका थिए ।
म्यानमार र आङ सान सुचीको जेल सजायँ
सैन्य सत्ताबाट अपदस्थ म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सूचीलाई विभिन्न नाममा अहिलेसम्म ३३ वर्षको जेल सजायँ सुनाइएको छ । सैन्य सत्ताले उनीमाथि देशको गोप्य सूचना चुहाएको, भ्रष्टाचार गरेको, घुस लिएको, गोपनीयता भङ्ग, विदेशीसँग साँठगाँठ गरेकोजस्ता अनेकौं आरोप लगाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया