माघेसंक्रान्ती अर्थात् माघी पर्व नजिकिएसँगै काठमाडौंको उत्तरपूर्वमा पर्ने टोखाका बस्ती चाकुको बास्नाले मग्मगाएको छ ।
जब माघी पर्व आउँछ तब टोखाका व्यवसायीहरुलाई चाकु बनाउने चटारोले छपक्कै छोप्छ । टोखाको चाकुलाई व्यवसायीकरण गर्दै पुर्खाको परम्परा धान्ने र विश्वबजारमा उत्पादनले पाएको ‘वा वाई’ लाई जोगाउँदै अझै प्रशिद्ध बनाउनु व्यवसायीहरुको चुनौती छ ।
उखु लगाउने ठाउँकै नामबाट हालको टोखाको नाम रहन गएको किंवदन्ती छ । पहिले पहिले सो ठाउँलाई तुःख्य भनिन्थ्यो । नेपाल भाषामा ‘तु’ को अर्थ उखु र :ख्यको अर्थ बारी भन्ने बुझिन्छ । सोही शब्दको अपभ्रंस भइ अहिलेको नाम टोखा रहन गयो ।
सुख्खा हुने र प्रशस्त जमिन भएकाले पहिले त्यहीँको उखुबाट चाकु लगायतको परिकार बनाइन्थ्यो ।
बस्तीको विकास र अन्य कारणले अहिले त्यहाँ उखु उत्पादन भने हुँदैन । तर, बाहिरबाट सखर ल्याएर पनि बजारको माग र आफ्नो गुणस्तरीयता कायम गरिरहेको छ टोखाको चाकुले ।
अहिले नेपालको कृष्ण नगर बोर्डर र तराइका जिल्लाहरुबाट चाकुको कच्चा पदार्थ अर्थात् सखर ल्याइन्छ । पहिले हातबाट नै सबै काम गर्नुपर्ने भएपनि अहिले भने चाकु बनाउनका लागि प्रविधिको प्रयोगले व्यवसायीहरुले सहजता महसुस गरिरहेका छन् ।
बाहिरबाट ल्याउँदा एक केजी सखरको मूल्य करिब ७०–७५ रुपैयाँ पर्दछ । ५० केजी सखरलाई पगालेर चाकुको आकारमा ल्याउँदासम्म त्यसबाट ४३–४४ केजी सम्म चाकुका परिकार बन्छ । घरमै पुगेर चाकु खरिद गर्नेहरुले केही सहुलितय पाउँछन् भने बजारमा १ सय २० रुपैयाँसम्ममा बिक्री वितरण हुने गरेको छ ।
पहिलेपहिले सखरबाट विभिन्न स्वादमा चाकुहरु बनाइन्थ्यो । पगालिएको सखरमा अदुवाको पिरोको स्वादको चाकु प्रख्यात रहे पनि अहिले भने अन्य भेराइटीका चाकु बनाइँदै आइएको छ ।
हाल खुवाको लड्डु, पुस्टकारी, बदाम लड्डु, भुजिया लड्डु, मुरमुरे लड्डु र पछिल्लो समय झोल चाकुसमेत बनाएर ग्राहकलाई नयाँ स्वाद चखाइरहेका छन्, उनीहरु ।
चाकुमा पनि खुवाको लड्डु मिठो र सबैले रुचाउने किसिमको हुने व्यवसायीहरु बताउँछन् । सिजनल पेशाले धेरैको परिवार त पालेको छ, साथसाथै निकट भविष्यमा यसले अन्तराष्ट्रिय बजारमा प्रवेश पाएमा देशले धनराशी पाउने देखिन्छ ।
अहिले नयाँ नयाँ प्रविधि आएर पहिलेको पूरानो परम्परागत कोलहरु विस्थापित भए पनि पछिल्लो पुस्ताले पुराना कोलहरुको खोजी गरेर संग्राहलय बनाउने समेत तयारीमा छन् ।
लोकपथको टीम टोखामा पुग्दा काशिलाल चाकु प्रोडक्सनका कर्मचारीहरु काममा व्यस्त थिए । चाकु बनाउनेदेखि प्याकिङ र बजार व्यवस्थापनका लागि समेत गरेर २५ जना जति कर्मचारी छन्, त्यहाँ ।
कोही सखरलाई पगाल्दै थिए । कोही त्यसलाई रङ भर्दै थिए भने कोही विभिन्न परिकार बनाउनैमा व्यस्त देखिन्थे ।
२०–२२ वर्षदेखि चाकु व्यवसाय गर्दै आएका काशिलाल चाकु प्रोडक्सनका प्रोपाइटर बुद्ध श्रेष्ठ भने कामको निरीक्षण गर्नैमा व्यस्त थिए । जिजुबाले गरेको पेशालाई निरन्तरता दिँदै उत्पादनलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा पुर्याउन पाउँदा सन्तुष्ट देखिन्छन् । यता उनका छोरासहित परिवारका अन्य सदस्यहरुले पनि उनको कामलाई साथ दिएका छन् ।
हजुरबुबाले टोखादेखि असनसम्म, बुबाले गर्दा असनदेखि केही जिल्लामा पुर्याएको भन्दै आफूले राष्ट्रिय बजारमा पुर्याउँदै अन्तराष्ट्रिय बजारमा पुर्याउने उनको ध्याउन्न रहेको छ ।
आफ्ना छोराहरुसमेत सोही व्यवसायमा रमाएको बताउँदै उनीहरुबाट चाकुलाई अनलाइनबाट बजारमा पुर्याउनुपर्ने सुझाव दिन थालेको बताउँछन् ।
समयको मागसँगै त्यहाँको चाकुले राष्ट्रिय घेरा नाघिसकेको छ । त्यहाँको चाकु नेपाली बजारसहित अमेरिका, अष्ट्रेलिया, चीन लगायतका देशहरुमा निर्यात हुँदै आएको छ । देशभित्रै अर्डर अनुसार पुर्याउन सकिने भए पनि अन्य देशमा लैजानको लागि ढुवानीको पहल सरकारले नै गर्दिएमा थप प्रोत्साहन हुने उनी बताउँछन् ।
चाकुको स्वाद आफैँमा मिठो हुने साथै त्यसको अन्य फाइदाहरु समेत रहेका छन् । विशेष जाडोबाट बच्नका लागि सखर वा यसको परिकारको प्रयोग गरिन्छ । तागतिलो हुने भएकाले सुत्केरीहरुलाई खुवाइने र औषधिहरुमा समेत यसको प्रयोग गरिने गरिएको उनी बताउँछन् । प्रायजसो जाडोमा मात्रै माग बढी हुने भएकाले भण्डारणको गर्नु नपरेको तर भोलिका दिनमा भने भण्डारणको व्यवस्था गरिने उनी बताउँछन् ।
माघी पर्व नजिकिएसँगै कामको चापाचाप उनीहरुलाई परिरहेको छ । अहिले बिहान ६ बजेबाट राति ८ बजेसम्म दैनिक १४ घण्टा काम गरेर बजारको माग धानिरहेका छन् उनीहरु । स्वाद जति मिठो छ बनाउनमा त्यति नै चुनौतीपूर्ण पनि छ । सखर पकाउनेदेखि प्याकिङसम्म पुग्दा आगोले पोल्ने, चोटपटक लाग्ने लगायतका जोखिमहरु रहन्छ ।
टोखाको चाकुलाई नेपालको चकलेटको ब्राण्ड बनाउनका लागि सरकारले गुणस्तर चिह्न प्रदान गर्नुपर्ने व्यवसायीहरुको माग छ । गुणस्तरयुक्त सखर प्राप्त गर्न सकेमा त्यसबाट गुणस्तरयुक्त चाकु बनाइ विश्व बजारमा पुर्याउन सकिने भन्दै त्यसको पहलमा लागेका छन् उनीहरु ।
बुद्ध मात्र होइन अन्य व्यवसायीहरु पनि चाकुको प्रवद्र्धनका लागि आशामा सरकारतिर हेरिरहेका छन् । यता टोखाको चाकु पहिले मानिसहरुले सानातिनो व्यवसायको रुपमा रहे पनि अहिले स्थानीय तहले पनि ब्राण्डिङको लागि पहल गरेका बताउँछन् टोखा चाकु परम्परागत संरक्षण समाज महासचिव एवं चाकु व्यवसायी, रामराज श्रेष्ठ ।
पहिले बाबुबाजेले पूरानो परम्परागत तबरबाट चाकु बनाउने गरे पनि अहिले नयाँ प्रविधि भित्रिएको छ । आफूहरुसम्म पुर्खाको पेशालाई जोगाए पनि पछिल्लो पुस्ताले त्यसलाई संरक्षण नगर्ने होकी भन्ने उनको चिन्ता छ ।
चाकु बनाउने परम्परागत साधनहरु अहिले बाहिर देखिँदैनन् । तर पनि मनमैज्यु लगायतका ठाउँमा रहेको र त्यसको संरक्षण गरि भोलिका पुस्तालाई देखाउन संग्रहालय बनाउने प्रयास गरिरहेका छन्, उनीहरु ।
त्यसका साथै पहिले भन्दा परिकार बनाउनका लागि प्रविधि प्रयोग गरेको र भोलिका दिनहरुमा पनि आधुनिक बनाउनुपर्ने उनको ध्येय छ ।
टोखामा उत्पादन हुने चाकुले देशको ८० प्रतिशत माग धानेको दाबी गर्छन्, रामराज । पहिलेपहिले अन्य मिठाइ नहुने र मिठाइका लागि चाकुकै प्रयोग गरिने भए पनि अहिले भने विभिन्न प्रकारका चकलेटले त्यसलाई विस्थापन गरेको उनको गुनासो छ ।
काँठ क्षेत्र भएका कारण त्यहाँका व्यवसायीहरु सिजनमा चाकु व्यवसाय गरे पनि अन्य समयमा खेतीपाती र अन्य काममा व्यस्त हुन्छन् ।
पुर्खाको कामलाई निरन्तरता दिँदै आफ्नो ठाउँको समेत पहिचान बन्ने धोकोले चाकु व्यवसाय गर्न पाएकोमा उनीहरु खुसी र सन्तुष्ट छन् । तर सिजनल व्यवसाय भएकाले सिजन बाहेक अन्य समयमा भने उनीहरुको व्यस्तता हुँदैन । जसको कारण आगामी दिनमा सररकारको पहलमा तराइबाट उखु ल्याइ सधैँ त्यही कामलाई रोजगारी र आम्दानीको स्रोत बनाउनुपर्नेमा उनीहरुको मनसाय छ ।
भक्तपुरको दही, खोकनाको तेलको चर्चा नेपालभरी भएजसरी टोखाको चाकुलाई पनि थप विस्तृत बनाउनेमा उनीहरुको जोड छ ।
बजारमा टोखाको चाकु प्रख्यात रहेको कारण अन्य ठाउँको चाकुमा पनि टोखाकै राखेर नाम राखेर बेचिनेगरेको उनी गुनासो गर्छन् ।
उनीहरु चाकु बनाएर बजारमा मात्र पठाउँदैनन्, आफुहरुले निर्धारण गरिदिएको मूल्यमा उपभोक्ताले पाए वा पाएनन् भन्ने विषयमा समेत उनीहरुको चासो रहने गरेको छ ।
व्यवसायीहरुले बजार मार्जिनसहित राखेर मूल्य निर्धारण गरिदिए पनि बजारमा मनोमानी मूल्य रहेका कारण उपभोक्ता ठगिइरहेको उनीहरुको चिन्ता रहेको छ । स्थानीयदेखि केन्द्र सरकारले समेत त्यसको ब्राण्डिङ गर्ने तयारीमा रहेको छ । गत निर्वाचनमा सो क्षेत्रबाट निर्वाचित सांसद प्रदीप पौडेलले आफ्नो घोषणापत्रमै राखेर त्यसको ब्राण्डिङमा लाग्ने घोषणा गरेका छन् । घोषणा अनुसारको पर्खाइमा छन् टोखाका व्यवसायीहरु पनि ।
नेवारी समुदायले जन्मदेखि मृत्यु संस्कारमा सखर र चाकुको प्रयोग गर्ने गरेका छन् । यता बजारमा भने माघी पर्वमा मात्र धेरै खपत हुने गरेको छ । चाकु बनाउने काम सिजनल व्यवसायको रुपमा मात्रै रहेका कारण बाह्रै महिना बन्दियोस् भन्ने चाहन्छन् त्यहाँका व्यवसायीहरु । तराईका विभिन्न जिल्लामा उखुले राम्रो बजार नपाइरहेको अवस्थामा त्यहाँको उखु ल्याएर ब्राह्रै महिना काम दिनसक्ने हो भने एकातिर रोजगारीको सिर्जना र अर्कोतिर राष्ट्रिय आम्दानीको राम्रो स्रोत बन्न सक्ने देखिन्छ ।
स्वादका लागि मिठो मात्र नभएर प्रयोगले विभिन्न फाइदासमेत हुने भएकाले पछिल्ल्लो समय बजारमा चाकुको माग बढिरहेको छ । त्यसो त टोखाको चाकुलाई प्रवद्र्धनका लागि पहल गर्ने केन्द्र सरकारले समेत बेला बेला कुरा उठाइरहेको छ ।
कुरा उठाए पनि त्यसको संरक्षण र विकासका लागि कुनै ठोस पहल भने हुन सकेको छैन । अधिकारसम्पन्न स्थानीय तह सरकार र केन्द्र सरकारले समेत त्यसलाई मुख्य एजेण्डा बनाइ चाकु व्यवसायलाई संरक्षण गर्न सकेमा रोजगारी र आम्दानीको राम्रो स्रोत बन्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया