खेल संघमा देखिएको विवाद अन्त्य गर्छौँ  : खेलकुद मन्त्री

काठमाडौं । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार ‘विश्वकर्मा’ले खेल संघमा देखिएको विवाद चाँडै अन्त्य गर्नै पर्ने बताएका छन् ।

राष्ट्रिय खेलकुद परिषद् ‘राखेप’ले आठौं राष्ट्रिय खेलकुद र १३ औँ दक्षिण एशियाली खेलकुदको तयारी तथा १८ औँ एशियाली  खेलकुदको समिक्षा गर्न आयोजना गरेको समिक्षा तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री विश्वकर्माले सो कुरा बताएका हुन् ।

मन्त्री विश्वकर्माले विगतका कमी कमजोरीबाट पाठ सिकेर त्यसलाई सच्याउँदै अगाडि बढ्नु पर्ने बताउँदै राज्यको श्रोत र साधनले भ्याएसम्म खेलकुदको विकासमा गम्भीर भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाले खेलकुदको विकास चाहने सबैसँग मिलेर अगाडि बढ्ने बताउँदै खेलकुद संघमा रहेको विवादको अन्त्य गर्न जरुरी भएको बताए ।

राखेपका सदस्य–सचिव केशवकुमार विष्टले दुई–दुई वर्षमा आयोजना गर्नु पर्ने बृहत राष्ट्रिय खेलकुदको आठौं संस्करण समयमै हुने बताउँदै पूर्वाधार निर्माण तीव्र गतिमा तयार हुँदै गरेकाले आठौं राष्ट्रिय खेलकुद समयमा हुँदैन कि भन्नेमा आशंका नरहेको बताए ।

सदस्य–सचिव विष्टले १३ औँ दक्षिण एशियाली खेलकुद गर्न नेपाल सक्षम छ भन्ने सन्देश दिने हिसाबले सागको तयारी अगाडि बढाइरहेको जानकारी दिए ।

खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले खेलाडीको प्रोत्साहन, स्तरीय तालिम र सामाजिक सुरक्षाका विषयमा अझ बृद्धि गर्ने विषयमा मन्त्रालयले ध्यान दिइरहेको बताए ।

सो अवसरमा तालिम तथा प्रशिक्षण विभागका निर्देशक रिमबहादुर रानाभाटले १८ औँ एशियाली  खेलकुदको समिक्षा प्रतिवेदन प्रस्तुत गरेका थिए भने आठौं राष्ट्रिय खेलकुद– २०७५ तयारी सचिवालयका प्रमुख इन्द्र कार्कीले आठौं राष्ट्रिय खेलकुदको हालसम्मको तयारी बारे प्रकाश पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?