निर्यातकर्तालाई सहुलियत दरमा कृषि सरह बैंकिङ ब्याजको व्यवस्था गर्न माग

लोकपथ
0
Shares
तस्वीर: गूगल

काठमाडौं । नेपाल निर्यात परिषद्ले निर्यात योग्य वस्तु उत्पादन र निर्यातकर्तालाई सहुलियत दरमा कृषिसरह बैंकिङ ब्याजको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

बुधबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै परिषद्ले आयातमुखी अर्थतन्त्रले मुलुकको अर्थतन्त्र सबल बन्न नसक्ने भएकाले निर्यात प्रवद्र्धनका लागि निर्यात योग्य वस्तु उत्पादन र निर्यातकर्तालाई सहुलियत दरमा कृषिसरह बैंकिङ ब्याजको व्यवस्था गर्न सरकारसँग माग गरेको हो । पत्रकार अध्यक्ष रेशमबहादुर पोखरेलले सरकारले नगद प्रोत्साहन प्राप्त गर्न प्रक्रियागत झन्झटको अन्त्य गर्नुपर्ने बताए ।

उनले नेपाली वस्तुहरुलाई छिमेकी मुलुकहरुसँग प्रतिष्पर्धी बनाउन निर्यातमुलक उद्योगका लागि १० वर्षसम्म विभिन्न छुटको व्यवस्था गर्नुपर्ने बताए । उनले विभिन्न देशमा रहेका नेपाली दुतावासहरुमार्फत नेपालका निर्यात योग्य वस्तुहरु व्यापक रुपमा प्रचार गर्नुपर्ने बताए । उनले सरकारले नेपाली उत्पादन वस्तु विदेशमा निर्यात गर्नको लागि विश्वव्यापी मान्यता प्राप्त ल्यापको स्थापना गर्न माग गरे ।

अध्यक्ष पोखरेलले चर्को हवाई भाडा,दक्ष जनशक्तिको अभाव,तरलता अभाव,बजार प्रवद्र्धन कच्चा पदार्थ ढुवानी खर्च महँगो,बजार विविधिकरणको कमीका कारण नेपाली उत्पादन विदेशमा निर्यात वृद्धि गर्न नसकिएको बताए । उनले नेपालको आर्थिक वर्ष २०७९/०८० को पाँच महिनामा कुल निकासी ३४.६ प्रतिशतले कमी आएर ६७.३० अर्ब रहेको बताए ।

परिषद्ले निर्यात दिवसको अवसरमा पुस २१ र २२ गते काठमाडौंको ठमेलमा नेपाली निर्यात जन्य वस्तुहरुको वृहत प्रदर्शनी आयोजना गर्ने भएको छ । आयातमुखी बजारलाई निर्यातमुखी बनाउनको लागि वृहत प्रदर्शनी आयोजना गर्न लागेको बताएको छ । नेपालमा उत्पादन भएका वस्तुको अन्तर्राष्ट्रिय बजारमा निर्यात प्रवर्द्धन गर्न प्रदर्शनीले सहयोग गर्ने विश्वास गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?