बैतडी । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटअन्तर्गत बैतडीले लगातार दोस्रो जित दर्ता गरेको छ । सो क्रममा बुधबार बैतडीले डोटीलाई ७७ रनले हरायो । यसअघि मङ्गलबार बैतडीले अछामलाई ९० रनले पराजित गरेको थियो ।
बैतडीले दिएको एक सय ४२ रनको लक्ष्य पन्छाएको डोटी १९ दशमलव एक ओभरमा ६४ रनमा अलआउट भयो । डोटीका लागि हिसिला खड्काले १६ र दिवेश्वरी ठकुल्लाले १० रन बनाउनुबाहेक अन्यले दोहोरो अङ्कको रन बनाउन सकेनन् । बैतडीकी करिश्मा थापाले तीन र कप्तान रितु कनौजियाले दुई विकेट हात पारे ।
त्यसअघि फाप्ला मैदानमा पहिला ब्याटिङ गरेको बैतडीले १९ दशमलव दुई ओभरमा एक सय ४१ रनमा समेटिएको थियो । जसमा कप्तान रितु कनौजियाले २४ र सङ्गीता मौनीले अविजित १८ रन बनाइन् । डोटीकी दिवेश्वरी ठकुल्लाले चार र हिसिला खड्काले दुई विकेट हात पारिन् ।
प्रतियोगितामा सहभागी सात टोलीमध्ये शीर्ष दुईमा पुग्ने टोलीबीच पुस २३ गते फाइनल भिडन्त हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टले जानकारी दिए । प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट सुदूरपश्चिम प्रदेशको टोली बनाइनेछ ।
उक्त टोलीले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनेछ । नेपाल क्रिकेट संघको आयोजनामा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुस २९ गतेदेखि इटहरीमा हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया