काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले मुखमा आएको सरकार गुमाउनुमा मुख्य दोषी पार्टी सभापति शेरबहादुर देउवा रहेको आरोप लगाएका छन् ।
लोकपथ टिभीको कार्यक्रम कर्माणिसँग कुरा गर्दै सहमहामन्त्री पाण्डेले पार्टीलाई कार्यमुखी बनाउन नसक्नुमा महामन्त्रीसहित अरु युवा नेताहरु पनि जिम्मेवार रहेको बताए ।
‘सभापतिले पहिलो सल्लाह र सम्मति लिएर काम गर्ने नै महामन्त्रीसँग हो । तर निर्वाचनपछि सरकार निर्माणका सन्दर्भमा उहाँले दुबै महामन्त्रीलाई बैठकमा बोलाउने आवश्यकतासम्म पनि ठान्नु भएन । त्यसैले मूल दोषी सभापति हुन् भने उनलाई गलत सल्लाह दिनेहरु पनि उत्तिकै कारक छन्,’ पाण्डेले भने ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जसरी पनि प्रधानमन्त्री बन्ने लालच पनि गठबन्धन टुट्नुको कारक रहेको भन्दै उनले कांग्रेसी मतदातासँग लिएको मत र खाएको कसम कसरी फर्काउनुहुन्छ ? भन्ने प्रश्न गरे ।
प्रचण्डको राजनीतिक बेइमानी बुझिसकेपछि कांग्रेस नेतृत्वले प्रधानमन्त्री छाडेर भए पनि गठबन्धन जोगाउनु पर्दथ्यो, पाण्डेले भने । ‘चुनावअघि हामीले गठबन्धन नगरौं भन्यौं, सभापतिहरुले मान्नुभएन । अहिले जोगाऔं भन्यौ, उहाँहरुले भत्काउनु भयो,’ उनले थपे ।
१४ औं महाधिवेशन गरेको वर्षदिन हुँदा पनि केन्द्रीय समिति, विभागदेखि भ्रातृ संस्थाहरुसमेत पूर्ण गर्न नसक्नुमा सभापतिलाई मात्र दोष देखाएर उम्कने ठाउँ नभएको उनको स्वीकारोक्ति थियो ।
अरु जिल्ला र बाजुरा जस्तो दुर्गम जिल्लाको जनप्रतिनिधि हुनुमा निकै फरक रहेको भन्दै उनले आफूहरुको आधाभन्दा बढी काम मन्त्रालय र अड्डा धाउँदैमा बित्ने बताए ।
पाँच वर्षे कार्यकालमा सेतो चामल नपाएर भोकमरीमा पर्नुपर्ने बाजुरेली जनताको नियती र भारतको कालापत्थरमा हाड घोट्न जानुपर्ने विवशता कम गर्न आफू लागिपर्ने पनि उनले बताए ।
बाह्रैं महिना चल्नसक्ने सडक सञ्जाल र जिल्लाभर नै विद्युतीकरण गर्न आफ्नो विशेष ध्यान जाने उनले उल्लेख गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया