शिक्षामैत्री बन्दै पालिका सरकार

लोकपथ
21
Shares

दिपायल । दिपायल–डोटीका स्थानीय तहले नेपालको संविधानमा उल्लेख गरिएका र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले व्यवस्था गरेका अधिकारहरू अभ्यासमा ल्याउन थालेका छन् ।

स्थानीय तहले सामुदायिक विद्यालयको गुणस्तर खस्केको कारण गुणस्तरमा सुधार ल्याउन अभिभावक शिक्षासँगै बालमैत्री योजना कार्यान्वयन गरिरहेका छन् । जिल्लाको बडीकेदार गाउँपालिकाले शिक्षा क्षेत्रलाई स्थानीय पाठ्यक्रम लागू गरेसँगै गुणस्तरीय शिक्षा कार्यविधि पनि लागू गरेको छ ।

गाउँपालिकाभित्रका ४२ विद्यालयमा गुणस्तरीय शिक्षा दिन बालविकास सहजता, कम्प्युटर शिक्षक, लेखापाल, निजी शिक्षक कार्यालय सहयोगीका विभिन्न दरबन्दी सिर्जना गरेर तलबसहित व्यवस्था गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख विवेक देउवाले बताए ।

पछिल्लो समय शिक्षा क्षेत्र निकै कमजोरसँगै खस्किँदै गइरहेको बेला पालिकाकाले स्थानीय पाठ्यक्रमसहित विभिन्न कार्यविधि बनाई शिक्षामा लगानी गरिरहेको शिक्षा शाखा प्रमुख देउवाले बताए । गुणस्तर सुधार गर्ने, सामुदायिक विद्यालयलाई रोजाइको केन्द्र बनाउने कार्य थालनी गर्न लागिरहेको गाउँपालिकाका उपाध्यक्ष डम्बरी (विष्ट) कलेलले बताइन् ।

पालिकाले गरेको अनुगमनमा अभिभावक, वडा समितिले विद्यालयमा शिक्षक उपस्थित छन्छै/नन्, पूरा समय विद्यालयमा पठनपाठन हुन्छ/हुँदैन, विद्यालय खोल्नुपर्ने दिनमा विद्यालय खुलेको छ/छैन जस्ता विषयमा वडास्तरमा तथा समुदायमा छलफल भइरहेको पनि गाउँपालिका उपाध्यक्ष कलेलले भनिन् ।

स्थानीय सरकारको स्थापना भए लगत्तै बडीकेदारको शिक्षा प्रणालीमा परिवर्तन भएको बडीकेदार–१ का स्थानीयबासी ललित बडैलाले बताए । पछिल्लो समय पठनपाठनमा देखिएको समस्यासँगै विद्यार्थीले स्कुल छोड्ने क्रम बढेका बेला स्थानीय सरकारले विद्यालयमा विकास निर्माणसँगै शिक्षा कार्यविधि लागू भएकाले यहाँको शिक्षाको गुणस्तरमा परिर्वतन भएको बडैलाले बताए ।

गुणस्तरीय शिक्षा प्रदान गर्न पालिकाले शिक्षा कार्यविधिसँगै आवश्यक बजेट विनोयोजन गरेको गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउदले बताए ।

शिक्षामैत्री बनाउन विद्यालयमा गएको रकम पारदर्शी गराउने, सामाजिक परीक्षण गराउने, विद्यालयका खर्च पादर्शी बनाउने, उपयुक्त वातावरण शिक्षण गराउने, भौतिक निर्माणका कार्यलाई स्तरीयरूपमा सम्पन्न गराउने, विद्यालयमा सुशासन कायम गर्ने लक्ष्यसहित गाउँपालिका लागि परेको अध्यक्ष साउदले बताए । उनका अनुसार पालिकाले बालमैत्री शिक्षालाई प्राथमिकतामा पनि राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?