काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
नेपाल आयल निगमले सोमवार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगमको सोमवार बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रति लिटर २ रुपैयाँ घटाउने निर्णय गरेको निगमले जनाएको छ ।
नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १ सय १२ तथा डिजेल र मट्टितेल ९९ रुपैयाँमा खरीद गर्न सकिनेछ । यसअघि पेट्रोल १ सय १४ तथा डिजेल र मट्टितेल प्रति लिटर एक सय एकमा खरीद बिक्री हुँदै आएको थियो ।
हवाई इन्धन तथा खाना पकाउने ‘एलपी’ग्यासको मूल्य भने यथावत राखिएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
वि.सं २०७१ देखि लागू हुँदै आएको स्वतः स्वचालित मूल्य संरचनाअनुसार भारतीय आयल निगमबाट प्राप्त मूल्य सूचीअनुसार मूल्य घटाइएको निगमले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया