बाबुको राज्याभिषेकमा जानेबारे प्रिन्स ह्यारी अनिर्णित, भने–‘बल उनीहरुको कोर्टमा छ’

लोकपथ
49
Shares

काठमाडौं । आफ्नो संस्मरणात्मक पुस्तक ‘स्पेयर’ मार्फत् बेलायती राजघरानाभित्रको सनसनीपूर्ण खबर सार्वजनिक गरेर चर्चामा रहेका राजकुमार ह्यारीले आफ्ना बुबा राजा चार्ल्सको राज्याभिषेकमा जानेबारे प्रतिबद्धता व्यक्त गर्न सकेनन् ।

आईटीभीलाई दिएको अन्तर्वार्तामा महाराजको राज्याभिषेकमा आमन्त्रित गरिए उपस्थित हुनुहुन्छ ? भनि सोधेको प्रश्नमा उनले भने, ‘अहिले र त्यसपछि बीचमा धेरै कुरा हुन सक्छ । तर, तपाईंलाई थाहा छ, ढोका सधैं खुला छ, बल उनीहरूको कोर्टमा छ ।’

राजकुमार ह्यारीले आफूले सार्वजनिक गरेका विषयमा मौन बस्दा बेलायती शाही परिवारलाई मद्दत नपुग्ने पनि बताए । आफूले सार्वजनिक गरेका विषयमा राजपरिवारले कुरा गर्नेमा आशावादी रहेको पनि उनको भनाइ छ ।

यही मंगलबार उनको जीवनमा आधारित संस्मरणात्मक पुस्तक स्पेयर सार्वजनिक गरिँदैछ । पुस्तक बजारमा आउनु अगावै चुहाइएका सूचनाहरुले उनको र बेलायती राजपरिवारबीचको द्वन्द्वलाई बजारीकरण गरिदिएको छ ।

आफ्नो पुस्तक बजारमा आउनुपूर्व रेकर्ड गराइएका दुई वटा अन्तर्वार्तामा उनले शाही परिवार र उनीहरूका सहयोगीहरूको कडा आलोचना गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएका छन् ।

यो भिडियो अन्तर्वार्ता अगाडी गार्जियन अखबारले प्रिन्स ह्यारीलाई उधृत गर्दै लेखेको थियो, ‘मेरी पत्नी मेघानका विषयमा असन्तुष्ट रहेका दाजु विलियमले मलाई कुटपीट गरे र भुईंमा लडाए ।’

चूप लागेर बस्दा विषयहरु कसरी राम्रो हुनसक्ला र ? ह्यारीले भनेका छन् । यी सब विषयमा दाई विलियमको प्रतिक्रियाचाहिँ के रहला ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘फरक कुरा छन् भने उनले पक्कै भन्लान् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?