‘ए’ डिभिजन लिग : संकटा लिगको दोस्रो स्थानमा उक्लियो

काठमाडौं । संकटा क्लब जारी शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा जारी खेलको पहिलो हाफसम्म संकटा क्लबले २-१ गोल अन्तरले पराजित गर्दै लिगको दोस्रो स्थानमा उक्लिएको हो ।  खेलको २९ औँ मिनेटमा संकटा क्लबका लागि सरोज दाहालले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिए ।

दाहालले गोल गरेको २ मिनेटमा नै संकटाका लागि दिपेश आले मगरले गोल गर्दै क्लबलाई दोब्बर अग्रता दिलाए ।

उनले म्याक्सवेलले दिएको क्रसलाई सदुपयोग गर्दै गोलपोष्टको जाली चुमाए ।

प्रतिस्पर्धात्मक बनेको खेलको ३९ औँ मिनेटमा पुलिस क्लबका लागि रवीशंकर पासवानले गोल गर्दै खेललाई २-१ को स्थितीमा ल्याए । रोमाञ्चक बनेको खेलको निर्धारित समयसम्म पुलिस क्लबले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेलमा पहिलो हार बेहोरेको हो ।

जितपछि संकटा क्लबले ६ खेलबाट १५ अंक बनाएको छ । एक खेल कम खेलेको मनाङ मस्याङदी क्लब समान अंक भएपनि गोल अन्तरको आधारमा अघि रहँदै लिगको शीर्ष स्थानमा यथावत छ । १३ अंक बनाएको पुलिस क्लब तेस्रो स्थानमा छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?