अन्तर्राष्ट्रिय ब्याडमिन्टन : नेपालका विकाश र दिपेशको विजयी शुरुवात, साजनकृष्ण पराजित

काठमाडौं । अन्तर्राष्ट्रिय ब्याटमिन्टन प्रतियोगिता अन्तर्गत नेपालका विकाश श्रेष्ठ र दिपेश धामीले विजयी शुरुवात गरेका छन् । 

हलचोकस्थित सशस्त्र प्रहरी बल ‘एपिएफ’को ब्याडमिन्टन हलमा भएको पहिलो खेलमा नेपालका श्रेष्ठले माल्दिभ्सका सरिम मोहमदलाई २१–१५, २१–७ को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा सुखद नतिजा निकालेको हो ।

त्यस्तै नेपाल कै विजित थापामगर, प्रफुल महर्जन, दीपेश धामी, प्रिन्स दाहाल र नवीन श्रेष्ठ पनि विजयी भएका छन् । खेलमा विजितले भुटानका सुभर्सन लामालाई २१–१९, २१–७ को सोझो सेटमा पराजित गरे भने प्रफुलले मोरिससका क्रिस्टोफर पाउललाई २१–१९, २१–१४ ले हराए । 

यसैगरी दीपेशले माल्दिभ्सका अहमद निबाललाई २१–८, २१–११, प्रिन्सले बङ्गलादेशका मङ्गल सिंहलाई २१–१५, १५–२१, २१–९ ले र नवीनले पनि बंगलादेशकै प्रतिद्वन्द्वी मोहम्मद सल्मान खानलाई २१–१५, २१–१९ ले पाखा लगाए ।

नेपालका तर्फबाट सहभागिता जनाएका गौतम कठायत, इरफान अन्सारी, दीपक बोहरा, रुकेश महर्जन, सुनील जोशी र साजनकृष्ण ताम्राकार भने पहिलो चरणमै पराजित भए । 

प्रतियोगितामा नेपालसहित विभिन्न २० राष्ट्रका ६१ महिला र ११७ पुरुषले सहभागिता जनाएका छन् ।

प्रतियोगितामा नेपालसहित, अमेरिका, जर्मनी, फ्रान्स, अष्ट्रेलिया, माल्दिभ्स, बहराइन, थाइल्याण्ड, भियतनाम, मलेसिया, मरिसस, भुटान, ,श्रीलङ्का, बङ्गलादेश, इरान, मङ्गोलिया, पाकिस्तान, म्यानमार, सिङ्गापुर र भारत सहभागी छन् ।

नेपाल ब्याडमिन्टन सङ्घको आयोजनामा सन्चालन भएको यो प्रतियोगिता २२ गतेसम्म चल्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?