काठमाडौं । पछिल्लो समय नेपाली खेलकुदलाई चटक्कै माया मारेर विदेशीने खेलाडीहरुको संख्या बढ्दै गइरहेको छ ।
‘पढ्यो पढ्यो पाठ, सोह्र दुना आठ’ यो उखान नेपाली समाजमा अहिले पनि बेला बेलामा सुन्दै आइरहेका छौँ । यहि उखानलाई ठ्याक्कै आफ्नो जीवनमा मेल खाएको भन्दै एथ्लेटिक्सकी राष्ट्रिय रेकर्ड कायम गरेकी खेलाडी केशरी चौधरी खाडी मुलुक भासिइन् ।
खेलकुदमा लागेर केही नहुने रहेछ भन्दै उनी यसैवर्ष मात्र वैदेशिक रोजगारीका लागि खाडी मुलुक गइन् । यू-१९ महिला क्रिकेटबाट खेल शुरु गरेकी उनी एथ्लेटिक्समा जम्न सफल भइन् । उनले सन् २०१० फ्रेबअरीमा १ दशमलब ६९ जम्प गर्दै राष्ट्रिय रेकर्ड बनाइन् । चौधरीले एक सय मिटर हडल्स, लङ जम्प र ट्रिपल जम्पमा पनि राष्ट्रिय कीर्तिमान बनाउन सफल भइन् ।
यता एथ्लेटिक्सकै विभागिय टिम नेपाल पुलिस क्लबमा प्रशिक्षकको भुमिका निर्वाह गरिरहेकी चन्द्रकला थापा पनि आर्थिक संकटकै कारण विदेशीईन् । एक समय एथ्लेटिक्समा एक सय, २ सय र चार सय मिटर दौडमा एकछत्र राज गरेकी उनी पनि आर्थिक संकटकै कारण नेपाल प्रहरीको जागिर छाडेर वैदेशिक रोजगारीका लागि गइन् ।
‘राष्ट्रको लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद’ यो नेपाली खेलकुदको मुल नारा हो । तर, यो सबै नारामा मात्र सिमित छन् । व्यवहारमा त्यति लागु भएको पाइदैन् । केशरी र चन्दा आर्थिक संकटका कारण वैदेशिक रोजगारीका लागि विदेशीने खेलाडीको प्रतिनीधि प्रात्र मात्र हुन् । यसअघि पनि थुपै खेलाडीहरुले ‘खेलेर जीवन धान्न’ नसकिने भन्दै विदेश पलायन भए ।
विगतदेखि वर्तमानसम्म एउटै समस्या भोग्दै आइरहेको नेपाली खेलाडीहरु खेलकुदमा नै लागेर बाँच्न सकिन्छ भनेर निर्धक्क भएर आफूलाई उभ्याउन सक्दैनन् । अहिले खेलाडीहरु कुनै न कुनै व्यवसाय गरेर आफ्नो गुजारा चलाई राखेका छन् । खेल र व्यवसायसँगै लैजान गाह्रो हुने खेलाडीको गुनासो छ ।
राज्यले खेलाडीलाई नेपालमा नै खेलेर बाँच्न सक्ने वातावरणको सिर्जना गर्न नसके खेलाडी विदेश पलायन हुने क्रम अझै बढ्दै जान सक्छ । एशियाली खेलकुदकी एक मात्र रजत पदक विजेता तेक्वान्दोकी सविता राजभण्डारी, साफका स्वर्ण पदकधारी मनिता शाही र भलिबलकी रमिला तण्डुकार हाल अमेरिकामा छन् ।
त्यस्तै फुटबलर अनिल ओझा अस्ट्रेलियामा र प्रलय राजभण्डारी अमेरिकामा छन् ।
पहुँच हुने र सम्पन्न खेलाडीहरु सर्वसम्पन्न देशमा छन् । उनीहरुको जीवनस्तर पनि राम्रै चलिरहेको देखिन्छ । तर, पहुँच नभएका खेलाडीहरु आर्थिक संकटकै कारण ऋण काढेर खाडी मुलुक जान परिरहेको स्थिती छ ।
विदेशीको तुलनामा नेपालका खेलाडीले शुन्य दशमलब एक प्रतिशत पनि सेवा सुविधा पाएका छैन् भन्दा फरक नपर्ला । छिमेकी मुलुक भारतका खेलाडीहरुले खेलेरै सुख सहेलको जीवन बिताइरहेका छन् ।
खेलाडी जीवनबाट सन्यास लिएपछि त्यहि खेलको प्रशिक्षक बन्दै अझ खेलको स्तरलाई कसरी माथि पु¥याउन सकिन्छ भन्दै विभिन्न टेक्निक्सहरु अपनाउँछन् । तर, नेपालका खेलाडी भने आफ्नो दैनिकी चलाउन पनि धौँ-धौँ पर्ने स्थितीमा छन् ।
यस्तो अवस्था अझ पदकको आशा गर्नु ‘आकाशतिर फर्केर ढुङ्गा हान्नु’ जस्तै हो । प्रतियोगिता आउनु भन्दा तीन महिना अघि मात्र खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने प्रचलन कायमै छ । एक त खेलेर बाँच्न सकिदैँन भन्ने मानसिकता खेलाडीहरुमा व्याप्त छ, त्यसमाथि पदक ल्याउनु पर्ने दवाव ।
मेडल पाउन त खेलाडीलाई पर्याप्त ट्रेनिङ हुनुपर्यो, खेलकुदमा मेरो भविष्य सुरक्षित छ भन्ने सुनिश्चित गराउनुपर्यो नि ! तालिम बिना मेडल ल्याओस् भनेर पशुपतिनाथ पुकारेर हुन्छ ? खेलकुदलाई माया मारेर किन विदेश भासिनुपर्यो भन्ने लोकपथको प्रश्नमा खेलाडीले दिएको प्रतिप्रश्न हो यो ।
बन्द प्रशिक्षणको दौरान मात्र भत्ता पाउने नेपाली खेलाडीलाई अरु बेला भने खासै सेवा सुविधा दिइदैन् । अन्तर्राष्ट्रिय प्रतियोगिताका बेला मात्र तीन महिना बन्द प्रशिक्षणमा राख्ने पुरानै शैली अहिले पनि जारी छ । प्रशिक्षण बेला खेलाडीलाई प्रतिव्यक्ति दैनिक १३, १४ सय रुपैयाँ दिइन्छ । तर, खेलाडीले त्यति थोरै रकमले डाइट खानेदेखि घरसम्म जाने व्यवस्था गर्नुपर्छ ।
विदेशी खेलाडीको तुलनामा नेपाली खेलाडीलाई दिइने दैनिक भत्ता निक्कै कम हो । विदेशी खेलाडीहरु अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि एक, दुई वर्षदेखि नै बन्द प्रशिक्षण बस्छन्, त्यहि अनुरुप तयारी गर्छन् र सफलता पनि हात पार्छन् । तर, उनीहरुको तुलनामा नेपालका खेलाडीलाई निक्कै कम प्रशिक्षण दिइन्छ, त्यसमा पनि मेडलको आशा ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा मेडल जित्नका लागि तीन महिनाको बन्द प्रशिक्षण कम भएको भन्दै बेला-बेलामा खेलाडीहरुले गुनासो पनि गर्दै आइरहेका छन् । तर, सम्बन्धित निकाय भने ‘सुने पनि नसुने झै’ गर्छन् ।
राज्यले खेलाडीलाई जब सम्म निर्धक्कका साथ खेललाई पहिलो प्राथमिकतामा राखेर खेल्न सक्ने वातावरण बनाउन सकिँदैन । तब सम्म खेलाडीले पदक ल्याउनु त परको कुरा खेलकुद क्षेत्र भन्नेबित्तिकै नाक खुम्च्याउनेको जमात खडा हुनेछ ।
केहि तालिमप्राप्त अनुभवी खेलाडी गर्जो टार्नकै लागि खाडी जानुपर्ने अवस्था रहेकोप्रति नेपाल सरकार तथा सम्बन्धीत निकायले बेलैमा ध्यान दिनु जरुरी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया