श्री इन्भेष्टमेन्ट एण्ड फाईनान्सको २८ औँ वार्षिक साधारण सभा सम्पन्न

लोकपथ
28
Shares

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको २८ औँ वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । सभामा अध्यक्षको मन्तव्य, सञ्चालक समितिको प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पेश गरिएकोमा सभाले उक्त प्रतिवेदनहरु पारित गरेको थियो ।

सभाले चुक्ता पूँजीको सात दशमलव ६० प्रतिशत लाभांश वितरण (बोनश शेयर दुई दशमलव ४० प्रतिशत तथा नगद लाभाँश पाँच दशमलव २० प्रतिशत) सम्बन्धि प्रस्तावलाई अनुमोदन गरेको छ । बोनस शेयर वितरण पश्चात कम्पनीको जारी तथा चुक्ता पुँजी ९८ करोड १६ लाख ८३ हजार दुई सय पुग्ने छ ।

साथै, कम्पनीको शेयर संरचना हाल कायम रहेको संस्थापक तर्फको ५३ दशमलव ३२ प्रतिशत र सर्व–साधारण तर्फको ४६ दशमलव ६८ प्रतिशतलाई क्रमशः ५१ प्रतिशत र ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पनि पारित भएको छ ।

प्रतिवेदन प्रस्तुत गर्ने क्रममा सभा अध्यक्षले विषम परिस्थितीको बावजुद पनि कम्पनीको व्यवसायीक कारोवार वृद्धि हुनुमा आफ्ना ग्राहकहरुसंगको निरन्तर सम्पर्क लगायत कर्जाको किस्ता तथा ब्याज असुलीतर्फ प्रभावकारी अनुगमन मुख्य रहेको बताए ।

कम्पनीले २०७९ आषाढ मसान्तसम्म आफ्ना १३ वटा कार्यालयहरुबाट नेपाल राष्ट्र बैंकको निर्देशन परिधि भित्र रहि व्यवसायीक कार्य गर्दै नियामक निकायहरुको निर्देशनहरु पूर्ण रुपमा पालना गरिएको जानकारी समेत सभालाई गराएका थिए ।

छलफलको क्रममा शेयरधनीहरुबाट उठाइएका विभिन्न प्रश्न तथा जिज्ञासाहरुको उत्तर सभा अध्यक्षको अनुमतिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले दिए पश्चात साधारणसभाबाट वित्तीय विवरण लगायत सभामा छलफलका लागी पेश गरिएका साधारण तथा विशेष प्रस्तावहरु सर्वसम्मतबाट पारित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?