काठमाडौं । नेपाल मजदूर किसान पार्टीका नेता एवं सांसद प्रेम सुवालले संसदमा अरु सबै दलले सरकारलाई विश्वासको मत दिएकाले अब आफ्नो दल नै प्रमुख प्रतिपक्षी भएको दाबी गरेका छन् ।
लोकपथ टिभीको कर्माणिसँगको कुराकानीमा उनले केहिगरी आफ्नो दललाई कानून अनुसार प्रमुख प्रतिपक्षीको हैसियत प्रदान नगरिए सदन, सडक र अदालतसम्म लडाईंमा जाने उनले चेतावनी पनि दिए ।
संसदको पहिलो ठूलो दल कांग्रेस र दोस्रो ठूलो दल एमालेले तेस्रो ठूलो दल माओवादीको नेतृत्वमा सरकार बनाउन सहमति जनाएर विश्वासको मत दिइसकेकाले संसदमा विपक्षी दलको भूमिका आफूहरुले निभाउने उनको भनाइ थियो ।
संसदमा रहेका मध्ये नेमकिपा र राष्ट्रिय जनमोर्चाले मात्र सरकारको विपक्षमा मत दिएकाले कानूनतः दुई दल मध्ये नै एक दललाई प्रमुख प्रतिपक्षी दलको हैसियत प्रदान गर्नुपर्ने उनले जिकीर गरे ।
दुई दलमा जनमोर्चाको भन्दा धेरै मत नेमकिपाको भएकाले आफूहरुले नै उक्त हैसियत पाउने उनको भनाइ छ । कांग्रेससहितका दलहरु सरकारको मित्र शक्ति भएकाले कांग्रेसलाई उक्त हैसियत दिइए संसदीय पद्धति नै सकिएको प्रष्ट हुने सुवालले बताए ।
कांग्रेसले राष्ट्रपति र सभामुख मध्ये एक पद लिनका लागि प्रचण्ड सरकारलाई विश्वासको मत दिएको हुनसक्ने भन्दै उनले संसदीय पार्टीहरु सिद्धान्तगत रुपमा पनि भ्रष्टीकृत भएको उनले बताए ।
सिंहदरबार भ्रष्टाचारको अखडा भएको भन्दै उनले अरु देशमा प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्म भ्रष्टाचारको मुद्दामा जेल जाँदा नेपालमा कोहीमाथि कार्वाही नहुनु सबैतिर भ्रष्टाचार छाएको प्रमाण हो, भने ।
भारतमा २८ प्रतिशत तथा नेपालमा १३ प्रतिशतले मत बेच्ने गरेकाले आफ्नो दलले भनेजस्तो परिणाम आउन नसकेको पनि उनको तर्क थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया