यती एयरको विमानको बीमा हिमालय एभरेष्ट इन्स्योरेन्समा

लोकपथ
126
Shares

काठमाडौं । आइतबार पोखरामा भएको यती एयरको एटिआर ७२–५०० विमानको बीमा हिमालय एभरेष्ट इन्स्योरेन्स कम्पनीमा रहेको पाइएको छ ।

बीमा कम्पनीले बिहान दुर्घटना लगत्तै पुनर्बीमा कम्पनीमार्फत क्षती मूल्यांकनका लागि सिंगापुरबाट सर्भेयर झिकाएको छ ।
कम्पनीले बेलायती पुनर्बीमक एमएआरसँगा पुनर्बीमा गरेको छ ।

नेपालमा हवाइ क्षेत्रको क्षती मूल्यांकनको सर्भेयरको कमीका कारण विदेशबाट सर्भेयर झिकाइएको हो । तर सर्भेयर एशोसियसनले भने नेपालमा हवाइ क्षेत्रको क्षती मूल्यांकन गर्न सक्षम सर्भेयरको कमी नरहेको दाबी गरेको छ ।

नेपालमा रहेका बीमा कम्पनीहरुले एकदम न्यून मात्रै जोखिम बहन गर्ने भएकाले त्यसको मूल्यांकनका लागि विदेशी पुनर्बीमा कम्पनीहरु मार्फत् काम भइरहेको नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौलेलले बताए ।
बीमा कम्पनीको मूल्यांकन गरेर जहाज र जहाजमा रहने यात्रुको सिट संख्याका आधारमा यात्रुको संख्याका आधारमा छुट्टै बीमा गरिने व्यवस्था रहेको छ ।

दुर्घटनाग्रस्त विमानको मूल्यांकन १ अर्ब ५० करोड रहेको छ । त्यस्तै जहाजमा सवार यात्रुको हकमा २० हजार अमेरिकी डलर बीमा हुने गरेको छ । यसको हिसावले विमानमा सवार यात्रुको परिवारले २५ लाख भन्दा बढी पाउने देखिन्छ । तर एयरलाइन्सले प्रति यात्रु कति बिमांकको बीमा गरिएको छ भन्नेबारे आफ्नो वेबसाइटमा खुलाएको भने छैन ।

हवाइ दुर्घटनामा ज्यान गुमाउने यात्रुका परिवारले १ लाख अमेरिकी डलर क्षतीपूर्ति दिन व्यवस्था रहेको मन्ट्रियल महासन्धी १९९९ मा उल्लेख रहेको छ । तर नेपाल सरकारले भने अझैसम्म त्यसलाई कार्यान्वयनमा ल्याएको भने छैन । हवाइ यातायात सेवा सञ्चालन संस्थाको दायित्व तथा बीमा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मार्फत प्रति यात्रु एक लाख अमेरिकी डलर क्षतिपूर्ती प्रदान गर्ने प्रस्तावसहितको मस्यौदा २०७८ माघमा नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयमा पेश भए पनि अझैसम्म कार्यान्वयनमा भने आएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?