बुढा सुब्बा गोल्डकपको २३ औँ संस्करण फागुन दोस्रो सातामा

लोकपथ
28
Shares

धरान । मोफसलको अन्तर्राष्ट्रिय आमन्त्रित फुटबल प्रतियोगिता बुढा सुब्बा फुटबल प्रतियोगिताको २३ औँ संस्करण यही फागुन दोस्रो सातादेखि हुने भएको छ । विसं २०७६ मा सम्पन्न २२ औँ संस्करणपछि कोभिडका कारण २०७७/७८ मा बुढासुब्बा गोलकप आयोजना हुन सकेको थिएन ।

यो वर्षको फागुन १३ देखि २० गतेसम्म सञ्चालनको तयारी भएको आयोजकले जनाएको छ । कोरोना महामारीले भएको आर्थिकमन्दीका कारण रोकिएको प्रतियोगिता सञ्चालनको तयारी भइरहेको धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले जानकारी दिए । प्रतियोगिताका लागि धरान उपमहानगरपालिका, प्रदेश सरकारसँग सहकार्य भइरहेको अध्यक्ष राईले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा सदाझै आठ वटा ए डिभिजन क्लबले सहभागिता जनाउने छन् । काठमाडौंका दुई, पोखराको एक, भारतको दुई र प्रदेश १ बाट आयोजकसहित तीन क्लबका स्तरीय टिमले सहभागिता जनाउने तय भएको अध्यक्ष राईले जानकारी दिए । एन्फाबाट प्रतियोगिताका लागि स्वीकृति लिइसकेको क्लबले जनाएको छ ।

दुई वर्षदेखि रोकिएको प्रतियोगितालाई सफल बनाउन सबै सरोकारवालासँग छलफल सुरु गरिएको अध्यक्ष राईले जानकारी दिए । आर्थिक अभावले २२ औँ संस्करणको बाँकी बक्यौता पनि मिलाउने काम भइरहेको आयोजकले जनाएको छ ।

अध्यक्ष राईले २३ औँ संस्करण भव्य समापन गरेर क्लबको नेतृत्व हस्तानतरण गर्ने तयारी गरेको जानकारी गराए । २२ औँ संस्करण २०७६ फागुनमा भएको थियो । प्रतियोगितामा नेपाल पुलिस क्लबलाई ३–१ ले पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लब काठमाडौं विजयी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?